Logo

बागमती पेज

भाद्र ४, २०७८ शुक्रबार

कक्षा १२ को परीक्षा छिटो सञ्चालन गर्न ध्यानाकर्षण


काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले विकल्प खोजेर कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा छिटो गर्न अनुरोध गरेकी हुन् ।

कक्षा १२ को परीक्षा स्थगितलाई समितिले अस्वभाविक रुपमा लिएको सभापति घर्तीले बताइन् । उनले अगाडि भनिन्, ‘बिना विकल्प दोस्रो पटक कक्षा १२ को परीक्षा स्थगित गरियो । अब छिटो परीक्षा गरेर निकास दिन अनुरोध गर्छु ।’

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षाबारे बोर्डलाई नसोधिएको बताए । उनले बैठकमा प्रतिप्रश्न गर्दै ‘परीक्षाको तयारी सकिएपछि परीक्षा रोक्नुपर्‍यो । कुन भेरियन्टले कक्षा १२ को परीक्षा रोकियो’ भनेका थिए । अध्यक्ष पौडेलले परीक्षा रोक्न नहुने बताएका थिए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले परीक्षाबारे छिटो निकास दिनुपर्ने बताए । उनले सकिन्छ भने एकै चोटी र सकिँदैन भने दुई चरणमा परीक्षा गराउन सकिने बताए ।

बैठक कक्षा १२ को परीक्षा र इन्जिनियरिङ कलेज शुल्कको विषयमा बसेको थियो ।

इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशीले सम्बन्धित कलेजहरुलाई शुल्क ब्रेक डाउन गर्न सुझाव दिएका थिए । अहिले कलेजहरुले एकमुष्ट शुल्क लिइरहेको भन्दै उनले शुल्क कुन शिर्षकमा कत्ति लिने भन्ने स्पष्ट गरी विद्यार्थीसँग आवश्यक छलफल गर्न सुझाव दिए ।

समिति सभापति घर्तीले विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शिर्षकमा विद्यार्थीसँग शुल्क नलिन मन्त्रालय, त्रिवि र संस्थानले इन्जिनियर कलेजहरुलाई निर्देशन दिन अनुरोध गरिन् ।