Logo

बागमती पेज

भाद्र १०, २०७८ बिहीबार

कांग्रेसको जिल्ला सभापति बन्न दुईथरि नीति, के बन्यो नयाँ मापदण्ड ?


काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरि नीति बनाएको छ ।

कांग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत साउन ३० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले एउटा निर्वाचन क्षेत्र हुने जिल्लामा एउटा र एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लामा फरक नीति तय गरेको छ ।

कांग्रेस विधानमा जिल्ला सभापति बन्न कम्तिमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट जिल्ला सभापतिको निर्वाचन हुने व्यवस्था गरिएको छ ।

https://subisu.net.np/

तर केन्द्रीय कार्यसमिति बैठकले विधानविपरीत एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । १ भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका हकमा महाधिवेशन प्रतिनिधि मध्येबाट नै जिल्ला सभापति चयन हुने गरी निर्देशिका बनेको छ ।

‘एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका उम्मेदवार बन्न पाउँछन्, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनैपर्छ,’ कांग्रेसका एक पदाधिकारीले भनेका छन् ।

कांग्रेस नेता रामहरि खतिवडा एक निर्वाचन क्षेत्र भएका जिल्लामा एउटा नियम र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अर्को नीति ठीक नभएको बताए ।

‘एक निर्वाचन क्षेत्र भएका जिल्लामा एउटा नियम र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अर्को नियम ठीक होइन, दुईथरि व्यवस्था नगरौं, यसलाई अझै सुधार्न सकिन्छ, यसतर्फ ध्यान दिऔं,’ नेता खतिवडाले भनेका छन् ।

कांग्रेस विधानमा जिल्ला सभापति पदमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधान छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने २ जना उम्मेदवारबीच पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर पहिलो पटकमा नै दुई जना मात्रै उम्मेदवार भएमा बढी मत ल्याउने व्यक्ति निर्वाचित हुने प्रावधान छ ।

कांग्रेसले १४औं महाधिवेशनको नयाँ कार्यतालिका ल्याइसकेको छ । नयाँ कार्यतालिका अनुसार कांग्रेस अब १८ भदौबाट मूल प्रक्रियामा प्रवेश गर्नेछ ।

नयाँ कार्यतालिकामा गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ ।

केन्द्रीय महाधिवेशन ९–१३ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापतिले मंगलवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरू गर्दैछन् । कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले मुख्य ३ मागसहित आफूहरु नेतृत्वविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्न लागेको बताए ।

‘पटक–पटक महाधिवेशन सारिएको छ, विधिविधानको पालना हुनुपर्छ, सदस्यता वडाबाट जिल्ला हुँदै सिफारिस भएर आएकालाई मान्यता दिनुपर्छ, केन्द्रबाट थपिएकालाई मान्न सकिँदैन, जिल्ला सभापतिका लागि विधानले तोकेको मापदण्ड सबैलाई समान र एकरुपता हुनुपर्छ । यिनै मागसहित हामी धर्नामा सुरू गर्दैछौं,’ उनले भने ।

काभ्रे सभापति मधु आचार्यले पार्टी विधिविधान अनुसार चल्नुपर्ने, पार्टीले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्नुपर्ने लगायतका आफूहरुका माग रहेको बताएका छन् । ‘क्रियाशील सदस्यतामाथि ५ हजार बढी उजुरी आएको सुनियो तर के कसरी छानबिन तथा सुनुवाइ भयो थाहा छैन, सदस्यताको सूची तत्काल सार्वजनिक गरिनुपर्छ, कांग्रेसजस्तो मासबेस पार्टीले सदस्यता लुकाउनुपर्दैन, सार्वजनिक गरियोस्,’ उनले भने ।

हाल क्रियाशील सदस्यताका विषयमा बारा र सप्तरीमा जिल्लाभर विवाद रहेको छ । धनुषा–४ सर्लाही–२, रसुवा र सिन्धुपाल्चोकका केही स्थानका सदस्यताका विषयमा पनि विवाद कायम छ । यी सबै नयाँ सदस्यतामा देखिएका विवाद छन् ।

नयाँ सदस्यताका विषयमा विवाद हुँदा कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले यसअघि नै देशभरका १२१ वटा वडाको नयाँ सदस्यता स्थगित गर्न पार्टी पदाधिकारीसहित शीर्ष नेतृत्वलाई सदस्यता सम्बन्धी प्रतिवेदन बुझाएको थियो ।