Logo

बागमती पेज

भाद्र १०, २०७८ बिहीबार

अष्टलक्ष्मी शाक्यलाई आफ्नै मन्त्रीले दिए धोका, आँखै अगाडि यत्रो संकट !


काठमाडौं । बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको १ हप्तामा नै प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् ।

मन्त्री खनाल गत बुधवार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका हुन् ।

मन्त्री खनालले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको नयाँ दल दर्तामा सनाखत गरिदिएका छन् ।

खनालले एमाले विभाजित भएर नयाँ दल दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग पुगेर बुधवार केन्द्रीय सदस्यको सूचीको ५२ नम्बरमा सनाखत गरेका छन् ।

नेता खनाल र प्रदेश सभाका सदस्य समेत रहेका अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखत गरेसँगै मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको छ ।

प्रदेशसभामा हाल कायम रहेका १०९ जना सदस्यमा एमाले एक्लैको स्पष्ट बहुमत अर्थात् ५६ जना प्रदेशसभा सदस्य रहेका थिए । २ जना खनाल र पाण्डेले नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गरेसँगै एमालेको शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।