Logo

भवानी कार्की

आश्विन ५, २०७८ मंगलबार

काठमाडौंसहित बागमतीका ३ जिल्लामा काँग्रेसको वडा अधिवेशन आज


काठमाडौं । बागमती प्रदेशको ३ जिल्लामा आज नेपाली काँग्रेसको वडा अधिवेशन जारी रहेको छ ।

संघीय राजधानी रहेको काठमाडौं जिल्लासहित सिन्धुपाल्चोक र काभ्रेमा मंगलबार बिहानैदेखि काँग्रेसको वडा अधिवेशन सुरु भएको हो । क्रियाशील सदस्य विवादका कारण गत भदौ १८ गतेदेखि २३ गतेसम्म तोकिएको वडा अधिवेशन केही ढिला गरी सुरु गरिएको हो ।

क्रियाशील सदस्यता विवाद मिलेसँगै गत शुक्रबार बसेको नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिको बैठकले असोज ५ गते अर्थात् आजका लागि अधिवेशनको मिति तय गरेको थियो । काठमाडौंको ११ स्थानीय तहको १ सय ३८ वटा वडामा नेपाली काँग्रेसको वटा अधिवेशन सुरु भएको नेपाली काँग्रेस बागमती प्रदेशकी प्रमुख सचेतक राधा घलेले जानकारी दिइन् ।

काठमाडौंका ११ स्थानीय तहहरुमा ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरु रहेको उनले बताइन् । काठमाडौंका सबै वडाहरूमा सर्वसम्मत रुपमा वडाका प्रतिनिधि चयन गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।१३ वटा स्थानीय तह रहेको काभ्रेमा पनि आज काँग्रेसको वडा अधिवेशनको रौनक सुरु भएको छ ।

जिल्लाका १ सय ३५ वटा वडामा एकैपटक अधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ नेपाली कांग्रेस काभ्रे सक्रिय रुपमा लागि रहेको नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले जानकारी दिए । १९ हजार ८३ जना क्रियाशिल सदस्यहरु रहेको काभ्रेमा अल्पसंख्यक, दलित, महिला लगायतका समावेशी सदस्यहरुसहित प्रत्येक वडाबाट न्युनतम १६ जना सदस्यहरु चयन हुने उनले बताए । वडा अधिवेशन विवाद रहित तवरले सर्वसम्मत रुपमा सक्रिय युवा नेतृत्व चयन गर्ने पहल भइरहेको उनको भनाइ छ ।

यता प्राकृतिक विपद्बाट ग्रस्त भएको सिन्धुपाल्चोकमा पनि काँग्रेसको वडा अधिवेशन सुरु भएको छ । ३ वटा नगरपालिकासहित १२ वटा स्थानीय तहका १ सय ३ वटा वडामा मंगलबार बिहानैबाट नेपाली वडा अधिवेशन सुरु भएको हो ।

केही समयअघि मात्र बाढी पहिराको विपद्को सामना गरेको र आगामी केही समयमा नै स्थानीय तहको निर्वाचन नजिकिएकाले सबै वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने काम भइरहेको बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता निमा लामाले जानकारी दिए । नयाँ ८ हजार र पुराना ८ हजार गरी कुल १६ हजार क्रियाशिल सदस्यहरुले वठा अधिवेशनमा भाग लिने र सक्रिय युवा नेतृत्व चयन गर्ने उनले बताए ।