Logo

बागमती पेज

आश्विन २५, २०७८ सोमबार

काठमाडौं महानगरको ८ तले प्रशासनिक भवन शिलान्यास


काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निमाणको शिलान्यास गरिएको छ । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा शिलान्याश गरेका हुन् ।

करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो ।

काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले जनाएको छ ।

भवनभित्र नेवारी शैलीको चोकहरू रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन, कर्मचारी, आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएको छ ।

विपद्को समयमा प्रयोग गर्न सकिने गरी आपतकालीन मार्ग तथा सुरक्षित भर्‍याङ रहने बताइएको छ ।

भवनको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै केन्द्रीय भवनको शिलान्यास गरेको बताए ।

महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन विभिन्न अड्चन आएको कारणले सुन्धारामा केन्द्रीय भवन बनाउन नसकेको बताए ।