Logo

बागमती पेज

मंसिर ७, २०७८ मंगलबार

४ महिनामा बागमती प्रदेशको बजेट खर्च ८ प्रतिशत मात्र


हेटौंडा । पहिलो चौमासिकमा बागमती प्रदेश सरकारले जम्मा ७ दशमलव ७१ प्रतिशत मात्र बजेट खर्च गरेको छ।

४ महिनामा ३ पटक सरकार परिवर्तन भएको बागमतीमा पहिलो चौमासिकमा कुल बजेटको ७ दशमलव ७१ प्रतिशत मात्र खर्च भएको हो।

प्रदेशको कुल बजेट ५७ अर्ब ७७ करोड १४ लाख २७ हजार रूपैयाँ रहेकोमा कात्तिक मसान्तसम्म ४ अर्ब ४५ करोड १८ लाख ९३ हजार ८ सय ४० रूपैयाँ खर्च भएको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले हालसम्म १० प्रतिशत चालू खर्च, ४ दशमलव ८५ प्रतिशत पुँजीगत खर्च र २० प्रतिशत वित्तिय खर्च गरेको छ।

प्रदेशको ७ अर्ब ५० करोड ५६ लाख ४१ हजार चालू बजेट रहेकोमा हालसम्म १ अर्ब ३२ करोड ८३ लाख २३ हजार ५ सय १५ रूपैयाँ मात्र खर्च गर्न सकेको छ।

त्यस्तैगरि २९ अर्ब ८४ करोड ९४ लाख १३ हजार पुँजीगत बजेट रहेकोमा १ अर्ब ४४ करोड ६७ लाख ७४ हजार ५ सय ९ रूपैयाँ मात्र खर्च भएको छ।

२ अर्ब वित्तिय बजेट रहेको प्रदेश सरकारले ४० करोड मात्र खर्च गर्न भ्याएको छ।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले साउन १ गते ल्याएको बजेट कात्तिक मसान्तसम्म ३ वटा सरकारले खर्च गरेका हुन्।

प्रत्येक वर्ष बजेट खर्च गर्न नसकेर अन्तिम समयमा खर्च गर्न हतारिने गरेको बागमती सरकारले चालू आव ०७८/७९ मा पनि बजेट खर्च बढाउन सकेको छैन।

गत आवमा वर्षभरि प्रदेशको बजेट खर्च गर्न नसकेको प्रदेश सरकारले एक महिनामा नै १२ अर्ब रूपैयाँ बजेट सकेको थियो।

चालू आवको पहिलो चौमासिकमै ३ पटकसम्म सरकार परिवर्तन भइसकेको छ।

राजनीतिक उतारचढावको असर प्रदेशको बजेट खर्चमा देखिएको प्रदेश लेखा नियन्त्रक कार्यालयको सूचना अधिकारी राजेन्द्र पाण्डेले बताए।

एमालेमा भएको विवादले दुई पटक सरकार विस्थापित भएर हाल गठबन्धनको सरकार बनेको छ। तर, वर्तमान सरकारले पनि प्रदेशको बजेट खर्चलाई बढाउँदै योजना कार्यान्वयन गर्नतर्फ ध्यान दिएको पाइँदैन।

गठबन्धनको साझा कार्यक्रम बनाएर पूरक बजेट ल्याउने तयारी गरिरहेको वर्तमान सरकारले पूर्वमुख्यमन्त्री पौडेलले ल्याएको बजेट पर्याप्त मात्रामा खर्च गरिरहेको छैन।

उसो त वर्तमान सरकार प्रदेशको काम कारवाहीमा भन्दा पनि गठबन्धनको भागबण्डा मिलाउनमा धेरै व्यस्त रहेको छ। श्रीजना नेपाल