Logo

बागमती पेज

मंसिर ७, २०७८ मंगलबार

कांग्रेसको चुनावमा शेरबहादुर देउवा र शशांक कोइरालाबीच तालमेल


काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तर्गत विभिन्न प्रतिनिधिसभा क्षेत्रमा अधिवशेन भइरहेका छन् ।

देशका अधिकांश भागमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल–शशांक कोइरालाको प्यानलबीच प्रतिस्पर्धा भइरहेका बेला नवलपुरमा फरक दृश्य देखिएको छ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाको गृहजिल्ला नवलपुरमा सभापति देउवा र कोइरालाबीच चुनावी तालमेल भएको छ । कोइराला पक्ष बलियो रहेको नवलपुरमा देउवासँग मिलेर पौडेलको प्यालविरुद्ध चुनाव लडिरहेको छ ।

नवलपुर क्षेत्र नम्बर २(क) का सांसद तथा महाधिवेशन प्रतिनिधिका उम्मेदवार विष्णु लामिछानेले देउवा र कोइरालाबीच चुनावी तालमेल भएको जानकारी दिए ।

नवलपुर क्षेत्र नम्बर १ मा सभापति पदका लागि देउवा–कोइराला प्यानलबाट कमलप्रसाद पराजुली र पौडेल पक्षबाट अमृत भट्टचन मैदानमा भिडिरहेका छन् । क्षेत्र नम्बर २ को सभापति पदका लागि देउवा–कोइराला प्यानलका जगतबहादुर कार्की र पौडेल प्यानलका सूर्य गुरूङबीच प्रतिस्पर्धा हुँदैछ । नवलपुरमा देउवा पक्षले कोइराला पक्षलाई समर्थन गरेको छ भने पौडेल पक्ष चुनाव लडिरहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल देउवा–कोइराला प्यानलबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका छन् ।