Logo

बागमती पेज

मंसिर २४, २०७८ शुक्रबार

रामेछापकी बिनिता खड्काले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


काठमाडौं । नेपाली कांग्रेसको आजबाट सुरु भएको १४ औं महाधिवेशनमा रामेछापकी बिनिता खड्काले केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् ।

अघिल्लो पटक १९ वर्षमा सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधिको रूपमा चुनिएकी खड्का दोस्रो पटक काँग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् । गत महाधिवेशनमा नै आफूलाई केन्द्रीय नेतृत्वमा उभ्याउने योजना थियो । पार्टीको विधानमा केन्द्रीय सदस्यका लागि १५ वर्षको क्रियाशील सदस्यता हुनुपर्ने व्यवस्थाले यो सपना पूरा हुन सकेन । तर, यस पटक भने आफूलाई आम प्रतिनिधिको साथ मिल्ने बिनिताको विश्वास छ ।

उनले पाटीलाई युवा नेतृत्वले अघि बढाउन सक्ने भएकाले केन्द्रीय समितिमा युवा जोश र जाँगर भएकालाई समेट्नुपर्ने बताएकी छिन् । उनले महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो अमूल्य मत प्रदान गर्नसमेत आग्रह गरेकी छिन् ।

विद्यालय तहदेखि नै नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सघंबाट राजनीति थालेकी खड्का आफूलाई परिवारबाटै राजनीतिमा आउने प्रेरणा मिलेको बताउँछिन् । रामेछापको राजनीतिमा स्थापित खड्का परिवार छोरी राजनीतिमा आओस् र देशका निम्ति केही गरोस् भन्ने चाहन्थ्यो । यसका लागि आफ्नै बुवा र माइलो बुवा बद्री बहादुर खड्काले सानै उमेरकी बिनिताका लागि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुने बाटो बनाइदिए । त्यही बाटोमा हिड्दै जाँदा खड्का आज केन्द्रीय राजनीतिको पहुँचमा आइपुगेकी छन् ।

‘सकेसम्म समाजलाई केही दिउँ भन्ने हो, गफ गरेर मात्र राजनीति टिक्दैन भन्ने बुझेको छु’ उनले भनिन् ‘जबसम्म हाम्रो राजनीतिबाट समाजले केही पाएको महसुश गर्दैन तबसम्म फोस्रो र आदर्शका कुराले मात्र राजनीति सम्भव छैन ।’ सरल स्वभावकी उनी कांग्रेसले यो बेलामा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउँछिन् । उनी स्थानीय तहको निर्वाचनमा सुनपाती गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार समेत भएकी थिइन् ।