Logo

बागमती पेज

पुस ३, २०७८ शनिबार

एमालेमा डा. भीम रावलले पाए सल्लाहकारकाे जिम्मेवारी


काठमाडौं । नेकपा एमालेमा नेता डा. भीमबहादुर रावलले नयाँ पद पाएका छन् । नेता रावलले एमालेको केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी पाएका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि जिम्मेवारीविहीन बनेका थिए ।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य समेत उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा. रावलले रुचि नदेखाएपछि रावललाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

महासचिव पोखरेलले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा. रावलको परामर्श बमोजिम हुने स्पष्ट गरेका छन् । पार्टीको गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरिसकेको छ ।

दशौं राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी समेत तोकिएको छ । अछामबाट प्रतिनिधि सभामा निर्वाचित डा. रावलले आफू पार्टीमै रहने र पार्टीभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन् ।

गत मंसिर १०–१४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्द सत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा डा. रावल तयार नभएपछि चुनाव नै भएको थियो ।