Logo

बागमती पेज

पुस २५, २०७८ आईतबार

नेपाली दुई फिल्म: नेदरल्यान्डको फिल्म फेस्टिभलमा प्रदर्शन हुने


काठमाडौँ । निरञ्जन राज भेटवाल र सुनिल पाण्डेले निर्देशन गरेका फिल्म विश्व प्रतिष्ठित रोट्रेड्याम फिल्म फेस्टिभलमा प्रदर्शन हुने भएका छन् । निरञ्जन निर्देशित ‘अन्हद’ र सुनिल निर्देशित ‘बाघथान’ इन्टरनेसल फिल्म फेस्टिभल रोट्रेड्यामको ५१ औँ संस्करणमा छानिएका हुन् ।

एक साथ दुई फिल्म यति ठूलो फेस्टिभलमा छानिएको यो पहिलो अवसर हो । शुक्रबार सार्वजनिक लाइन अपमा नेपालबाट एकै निर्माताले बनाएका दुई फिल्म छनोट भएका हुन् । दुवै फिल्मलाई आइसफल प्रडक्सनले निर्माण गरेको हो । निरञ्जन निर्देशित ‘अन्हद’लाई एक्लै निर्माण गरेका आइसफलले ‘बाघथान’का लागि भने सिमल सिनेमाको साथ लिएको छ ।

दुवै फिल्म सर्ट तथा मिड लेन्थ विधामा प्रतिस्पर्धी रहेका छन् । अंग्रेजी नाम ‘इटर्नल्स मेलोडी’रहेको निरञ्जन निर्देशित फिल्मले हिन्दू संस्कारमा विद्यमान प्रेत र प्रेत मुक्तिका लागि गरिने क्रियाकर्मको कथा पेस गर्छ । कथानुसार दिवंगत श्रीमान् सपनामा आएर आफू मुक्त नभएको सन्देश दिएपछि छोरालाई लिएर श्रीमतीले गर्ने आन्तरिक तथा बाह्य यात्रालाई फिल्मले विषय बनाएको छ ।

यसैगरी सुनिल निर्देशित फिल्मले भने बसाइँ सराइ र त्योसँग जोडिएका स्मृतिको कुरा गर्छ । निर्देशकको आफ्नो हजुरबाले सुनाएको कथालाई आधार मानेर बुनिएको कथाले विगतमा मानव बस्तीलाई बाघको पञ्जाबाट मुक्त गर्न प्रयत्नहरूको चर्चा गर्छ । यो फिल्मको लम्बाइ २० मिनेट रहेको छ । ‘अन्हद’ले भने १३ मिनेटमै आफ्नो कथा भनिसकेको छ ।

यही महिनाको २६ तारिखदेखि फ्रेब्रुअरी ६ सम्म चल्ने फेस्टिभल यो साल अनलाइन हुनेछ । ओम्रिकोनका कारण केही दिनअघि मात्र फेस्टिभल आयोजकले यो संस्करण अनलाइन हुने सूचना जारी गरेका थिए ।

रोट्रेड्याम फिल्म फेस्टिभलमा यसअघि दीपक रौनियार निर्देशित ‘ह्वाइट सन्’ छनोट भएको थियो । गत साल पूजा गुरुङ र विभूषण बस्नेता निर्देशित डकुमेन्ट्री ‘बिग हेडेड ब्वाई : सामन्स एन्ड सामुराई’ पनि यो फेस्टिभलमा छानिएको थियो ।