Logo

मेघनाथ पहाडी

माघ १८, २०७८ मंगलबार

पर्यटकिय गन्तव्य बन्दै सिन्धुलीको फिक्कलः होमस्टे निर्माणमा तीब्रता


सिन्धुली । जिल्लाको सबैभन्दा अग्लो र सुन्दर डाँडो हो सिन्धुलीको फिक्कल । जसको नामबाटै पालिकाको नामाकरण गरेर फिक्कल गाउँपालिका राखिएको छ । समुन्द्री सतहबाट २३ सय ६७ मिटरको उचाईमा रहेको फिक्कल पर्यटकिय रुपमा पनि निकै आकर्षक र रमणिय मानिन्छ । फिक्कलबाट छिमेकी जिल्ला मात्र नभएर विभिन्न हिमालहरुको समेत दृश्याअवलोकन गर्न सकिन्छ ।

निर्माणाधिन हाेमस्टे अवलाेकन गर्दै गाउँपालिका अध्यक्ष धन बहादुर कार्की र उपाध्यक्ष पार्वती सुनुवार

फिक्कल-३ का वडाध्यक्ष टेकबहादुर रजन मगरले पर्यटकहरुलाई मध्यनजर गर्दै फिक्कलको फेदी चनौटेमा होमस्टे निर्माणको काम तीब्र रुपमा भएको बताए । फिक्कलमा आउने पर्यटकहरुको सहजताका लागि पालिकाको आर्थिक सहयोग तथा वडाको समन्वयमा ७२ जना सम्मको क्षमता भएका ९ वटा होमस्टे निर्माणको काम भईरहेको वडाध्यक्ष रजन मगरले बागमती पेजलाई जानकारी दिएका छन् ।

फिक्कल-३ का वडाध्यक्ष टेकबहादुर रजन मगर

भ्यु टावर निर्माण शुरु भएपछि आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्न थालेको छ । फिक्कल डाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ भ्यु टावर निर्माण शुरु गरिएको थियो । टावर निर्माणले पर्यटन प्रबर्द्दनमा टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बताए ।

उनले भने, ‘‘भ्यु टावर र हाेमस्टे निर्माण भएपछि यहाँका स्थानीयवासी उत्साहित भएका छन्, यसले गाउँपालिकासँगै सिन्धुलीको पर्यटन विकासमा ठूलो सहयोग पुग्ने छ । जिल्लाको सबैभन्दा अग्लो स्थान रहेको यो फिक्कलाई हामीले पर्यटकिय गन्तव्यको आकर्षण बनाउने छौं ।’’

गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार फिक्कल आउने पर्यटकहरु एकदिन भन्दा बढि बस्न खोजेको पाईयो, हामीले त्यसैलाई मध्यनजर गर्दै होमस्टे निर्माणको कामलाई अहिले प्राथमिकतामा राखेका छौं । केही दिनको भ्रमणमा आउने पर्यटकहरुलाई होमस्टे संचालन पछि सहज हुनेछ ।

उपाध्यक्ष सुनुवारले भनिन्, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरी आकर्षक भ्यु टावरको निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल वढाउन र स्थानीय वासिन्दाको आम्दानीका स्रोतमा वृद्धि गर्न यसले थप सहयोग पुर्याउनेछ ।’

गत साउनबाट निर्माण शुरु गरिएको होमस्टे निर्माणको काम अन्तिम चरणमा पुगेको छ, वडाध्यक्ष टेकबहादुर मगरले भने- हामीले माघ महिना भित्रै होमस्टे निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।

चनौटेमा निर्माणाधिन होमस्टेको कुल लागत रु एक करोड तीन लाख ५० हजार ६ सय ७८ रुपैया ९५ पैसा रहेको छ । निर्माण कम्पनी सुदिप विल्डर प्रा.लि ले २०७८ साल साउनबाट निर्माण शुरु गरेको थियो । हाल सम्म ९२ प्रतिशल काम सम्मपन्न भएको र फागुन भित्र काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रोपाईटर कुशल पोखरेलले प्रतिवद्धता जनाएका छन् ।

कम्पनीका प्रोपाईटर पोखरेलले गुणस्तरिय काम सम्झौता मिति भन्दा केही महिना अगाडीनै सम्पन्न गर्ने दावी समेत गरे ।