Logo

बागमती पेज

फाल्गुन २०, २०७८ शुक्रबार

प्याब्सनको महाधिवेशनमा हमालको उम्मेदवारी, यसरी बन्दै छन् निर्विरोध अध्यक्ष


काठमाडौँ । निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सन अर्थात् राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको राष्ट्रिय अध्यक्षमा पाण्डव हमालले उम्मेदवारी दिएका छन् ।

बाँकेको नेपालगन्जमा नेसनल प्याब्सनको सातौँ राष्ट्रिय महाधिवेशन हुँदै छ । सोही महाधिवेशनका लागि हमालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

अघिल्लो महाधिवेशनमा वर्तमान अध्यक्ष ऋतुराज सापकोटासंग झिनो मतले हार व्यहोरेका हमाल यस पटक भने निर्विरोध अध्यक्ष बन्ने होडमा छन् ।

हमाल भन्छन्, ‘अघिल्लो महाधिवेशनमा केही प्राविधिक कारणले पराजय हुन पुगे । तर पनि वर्तमान कार्यसमितिलाई मेरो क्रियटिभ सहयोग रह्यो । जिल्ला–जिल्लामा हुने प्रायः कार्यक्रमहरूमा उपस्थित भएको छु । नीतिगत छलफलमा सहभागी भएको छु । यस कारणले पनि होला साथीहरूले नेतृत्वमा आउनु पर्छ भन्नु भयो । उहाँहरूले दिनु भएको सुझावलाई हृदयङ्गम गर्दै मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’

अहिले हामी महाधिवेशनको अन्तिम तयारी जुटेका छौँ । नेपालगन्जमा महाधिवेशन प्रतिनिधिहरू आउने क्रम जारी छ । हामी आएको आज चार दिन भइसकेको छ । प्रतिनिधि साथीहरूले मेरो पक्षमा समर्थन जनाइ रहनु भएको छ । वर्तमान पदाधिकारीको पनि पूर्ण समर्थन पाएको छु । आशा छ मेरो नेतृत्वमा निर्विरोध कमिटी बन्नेछ, उनले भने ।

शिक्षामा निजी क्षेत्रको लगानी सुनिश्चित गर्न, सदस्य विद्यालयहरूको हकहित, संरक्षण र सम्बद्धन गर्न, विभेदकारी छात्रवृत्ति नीतिलाई निष्क्रिय बनाउन उद्देश्य लिएको बताए ।

नेपालगञ्जमा फागुन २२ र २३ गते देशभरका संस्थागत विद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले महाधिवेशनको उद्घाटन गर्ने जनाइएको छ ।

को हुनु पाण्डव हमाल ?
सिराहा जिल्लाको लाहान मेरी चिल्ड्रेन स्कुलका संस्थापन पाण्डव हमाल ३ दशकभन्दा लामो समय शिक्षा क्षेत्रमा बिताइ सकेका छन् । लाहान मेरी चिल्ड्रेन स्कुल जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा चिनिन्छ ।

हमाल नेसनल प्याब्सनिष्टहरुको बिचमा मात्रै होइन, समग्र शिक्षा क्षेत्रमा परिचित नामको रूपमा लिइन्छ । देशको समसामयिक शिक्षामा उठ्ने महत्त्वपूर्ण विषयमा हमालले राष्ट्रिय मिडियाहरूमा दर्जनौँ पटक बहस गरेका छन् ।

आफूलाई लागेको कुरा स्पष्ट राख्न सक्ने वक्ताको रूपमा पहिचान बनाएका हमाल निजी विद्यालयहरूमा हुने कुनै पनि समस्या समाधानमा आफूलाई उभ्याउँदै आएका छन् भने संस्थागत विद्यालयहरूको गुणस्तरीय प्रवर्द्धन, व्यवस्थित तथा परिणाममुखी एन प्याब्सनको निर्माण गर्नु पर्छ भन्ने उनको ध्येय रहेको छ ।

२४ वर्ष अगाडि नेसनल प्याब्सन स्थापना हुँदा उनी तदर्थ समिति सदस्य थिए । केन्द्रीय सदस्य, २ पटक केन्द्रीय सचिव र २ पटक केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई काम गरी सकेका छन् ।