Logo

बागमती पेज

फाल्गुन २९, २०७८ आईतबार

तेहेरो अंकले बढ्यो नेप्से परिसूचक, २०९ धितोपत्रको मूल्य उकालो


काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हो ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६ दशमलव ३७ अंकले बढेको छ । नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने सेन्सेटिभले ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्छ ।

कारोबार रकममा समेत अघिल्लो साताको भन्दा सुधार देखिएको छ । अघिल्लो साता औसतमा ३ अर्ब देखिएको कारोबार रकम आइतबार करिब ५ अर्ब पुगेको छ ।

दिनभर भएका ६४ हजार २२८ कारोबारबाट २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ पुगेको छ ।

कारोबार भएका २२८ धितोपत्रहरुमध्ये २०९ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रकोमात्रै मूल्य घटेको छ । बाँकी ८ धितोपत्रको कारोबार भए पनि मूल्य स्थिर देखिएको छ ।

आइतबार तीन वटा कम्पनीको सेयर मूल्य अधिकतम् १० प्रतिशत नै बढेर बन्द भएको छ । जसमा पहिलो नम्बरमा एशियन लाइफको सेयर मूल्य ८०.५० रुपैयाँले बढेर ८८५ दशमलव ५० रुपैयाँमा पुगेको छ ।

दोस्रोमा ज्योतिको ५६ रुपैयाँले बढेर ६२१ दशमलव ५० रुपैयाँमा र सानिमा लाइफ इन्स्यारेन्सको ५१ रुपैयाँले बढेर ५६६ दशमलव ५० रुपैयाँमा पुगेको छ । धेरै घट्ने धितोपत्रहरुमा भने मेगा म्युचुअल फण्ड, प्राइम कमर्सीयल बैंकको डिबेञ्चर, कुमारी इक्वीटी फण्ड लगायत देखिएका छन् ।