Logo

मेघनाथ पहाडी

चैत्र ६, २०७८ आईतबार

माओवादी केन्द्रमा सिन्धुली जस्तो नेतृत्व आवश्यक : अध्यक्ष प्रचण्ड


सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी केन्द्रमा सिन्धुलीको जस्तो नेतृत्व देशभर आवश्यक रहेको बताएका छन् ।

माओवादी केन्द्रको नवनिर्मित पार्टी कार्यालय भवन उद्घाटन गर्न सिन्धुली पुगेका अध्यक्ष प्रचण्डले सिन्धुलीमा माओवादी केन्द्रको सफल नेतृत्व रहेको धारणा व्यक्त गरे ।

निर्माण शुरु गरेको छोटो समयमै चारतले सेवा सुविधा सहित निर्माण सम्पन्न भवनको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले भवन निर्माण बारे आफूलाई जानकारी नदिएकोमा अचम्मित बने । उनले भने, निर्माण शुरु गरेको छोटो समयमा निर्माण सम्पन्न गरी भवन उद्घाटन गर्न पाउँदा उत्साहित बनेको छु ।

देशभर स्थानीय चुनावको माहोल तातेसँगै राजनीतिक चहलपहल समेत बढ्न थालेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार सिन्धुली पुगेका हुन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले माओवादी पार्टी अव देशकै ठुलो पार्टी बन्ने दावी गरे । ‘पार्टीमा एकता, छलफल र समहतीका आधारमा काम गर्ने र नेतृत्व गर्ने चलनको विकास भएको छ । अव जनयुद्ध र जनयुद्धपछि लोकतन्त्रको जस्तो हुँदैन । उनले भने, ‘अव पार्टीमा एकढिक्का भएर आठौं महाधिवेशनले दिएका म्यान्डेटका आधारमा अघि बढ्छ । यसले पार्टीलाई नयाँ उचाईमा पुर्‍याउन मद्धत गर्छ ।’

जिल्लाका लोकप्रिय तथा विकासवादी नेताको रुपमा आफूलाई स्थापित गर्न सफल नेता राजन दाहाल निकै सक्रिय ढंगले जिल्लाका सबै स्थानीय तहमा आफै पुगेर संगठन विस्तारमा लागेका छन् ।

जिल्ला ईन्चार्ज समेत रहेका दाहालको सक्रियताले नेकपा एमालेलाई अझ संकट हुने एमालेकै नेताहरु बताउँदै आएका छन् । दुई दिन पार्टी अध्यक्ष प्रचण्ड समेत मन्त्रीहरुको टीम सिन्धुली पुगेर थप योजना बनाउने भएपश्चात विपक्षी दलले निकै चासोका रुपमा हेरेका छन् ।

अध्यक्ष प्रचण्ड सिन्धुली पुगेसँगै अन्य पार्टीमा समेत तरङ्ग फैलिएको छ । पछिल्लो समय नेकपा माओवादी केन्द्र सिन्धुलीले जिल्ला भरका स्थानीय तहमा आफ्नो राम्रो संगठन विस्तार गर्दै आएको छ । संगठन विस्तारका क्रममा विभिन्न पार्टी परित्याग गर्दै एक हजार बढि नेता कार्यकर्ता माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन् ।