Logo

बागमती पेज

चैत्र १४, २०७८ सोमबार

मतपत्र छपाइको सुरक्षा जिम्मा सेनालाई दिने निर्णय


काठमाडाैं । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइसम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जनाए।

शुक्रवार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ४ वटा सुरक्षा अङ्गले प्रस्ताव गरेको योजनालाई परिमार्जन सहित स्वीकृत गर्ने निर्णय गरेको थियो । २०७९ वैशाख ३० मा हुने निर्वाचनको सुरक्षाका लागी सरकारले महत्त्वपूर्ण प्रतिष्ठान, संरचनाहरू (कारागार र विमानस्थल) समेतको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरी बललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन अवधिभर त्रिभुवन विमानस्थल सहितका देशभरका विमानस्थल, कारागार, महत्त्वपूर्ण प्रतिष्ठान र संरचनाहरूको सुरक्षामा नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरिएको छ । विकट क्षेत्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी गर्ने जिम्मा पनि सेनालाई दिने निर्णय गरिएको छ । निर्वाचनको ३० दिन अघिदेखि सेनाले निर्वाचन क्षेत्रमा पट्रोलिङ गर्नेछ ।

निर्वाचनमा सेनाको बम डिस्पोजल टोली परिचालन गरिने र मतदानको दिन मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दुरीमा सेनाका फौज तैनाथ राख्ने गरी एकीकृत सुरक्षा योजना तयार गरिएको छ ।