Logo

बागमती पेज

बैशाख २७, २०७९ मंगलबार

विजय दिवसको मौकामा रुसका राजदूतमाथि हमला


काठमाडौं । पोल्याण्डका लागि रुसी राजदूत सर्गेई एन्ड्रिभलाई विजय दिवसको वार्षिकोत्सवमा रातो पेन्टमार्फत् प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् ।

एन्ड्रीभ वारसामा सोभियत सैनिकहरूको सैन्य स्मारकमा फूल चढाउन गएका थिए, त्यतिबेला प्रदर्शनकारीहरूले उनीमाथि रातो पेन्टमार्फत् हमला गरे । रुसको आधिकारिक समाचार एजेन्सी टासले यसबारे जानकारी दिएको हो । उनीमाथि भएको यो आक्रमणको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

भिडियोमा उनलाई प्रदर्शनकारीको भीडले घेरेको र एक प्रदर्शनकारीले उनलाई नजिकैबाट रातो पेन्ट फालेको देखिन्छ । तर एन्ड्रीव उत्तेजित नभई त्यत्तिकै उभिरहन्छन् । त्यसपछि आफ्नो अनुहार सफा गर्छन् तर प्रदर्शनकारीमाथि कुनै प्रतिक्रिया दिँदैनन् ।

समाचार एजेन्सी टासले भन्यो, ‘रुसी संघका राजदूत, उनकी पत्नी र उनीहरूसँगै आएका कूटनीतिज्ञहरूको समूहलाई रातो रंगमा आक्रमण गरिएको थियो र उनीहरूलाई सैन्य स्मारकमा प्रवेश गर्न पनि दिइएन ।’

‘कारबाट बाहिर निस्कने बित्तिकै एन्ड्रीभलाई आक्रामक प्रदर्शनकारीहरूले घेरेका थिए । यी प्रदर्शनकारीहरूले सैन्य स्मारकमा युक्रेनी झण्डासहित रुस विरोधी नारा लगाएका थिए ।’

त्यसपछि प्रहरीले कूटनीतिज्ञलाई आफ्नो कारसम्म सकुशल पुग्न मद्दत गराएका थिए । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथिको विजयको सम्झनामा रूसले मे ९ मा विजय दिवस मनाउँछ । विजय दिवसको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक सम्बोधनमा रुस युक्रेनमा मातृभूमिका लागि लडिरहेको बताए ।

यस वर्षको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ । पोल्याण्डको राजधानीमा युक्रेनको समर्थन र यस युद्धको विरोधमा जनताले प्रदर्शन गरेका थिए । एजेन्सी