Logo

बागमती पेज

जेष्ठ ३, २०७९ मंगलबार

काउछोर्तेन बौद्ध रामेछापको एक चिनारी


काठमाडौँ । उमाकुण्डको पर्यटन विकास हाम्रो सान प्राकृतिक बौद्ध हाम्रो पहिचान भन्ने मूल नाराका साथ २५६६ औँ बुद्ध जयन्ती महोत्सव सम्पन्न भएको छ । रामेछाप जिल्लाको नुम्वुर हिमालको  काखमा रहको काउछोर्तेन बौद्धलाई मध्यनजर गर्दे यस वर्ष पहिलो पटक काउमा प्राकृतिक बौद्ध महोत्सव सम्पन्न भएको हो । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत देशका अन्य विभिन्न बौद्ध स्तुपाहरुमा बुद्ध जयन्ती सम्पन्न भएको छ ।

जिल्लाको हिमाली भेगमा रहेको यस बौद्ध स्तुपा प्राकृतिक बनावटले भरिएको छ । भौगोलिक हिसाबले निकै टाढा रहको यस काउ बौद्धमा भौगोलिक विकटका कारण यातायातको सुविधा नहुँदा पूजा आजा तथा मेला महोत्सव गर्न सम्भव नभए पनि यो वर्ष स्थानीय बसिन्दाले खनेको गोरेटो बाटो हुँदै त्यस उच्च भेगसम्म पुगेर महोत्सव सम्पन्न गरिएको हो । महोत्सवमा २० जना लामा गुरुहरूबाट भगवान् बुद्धको पूजा आजासँगै शेर्पा भाषामा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

रातो तारा युवा क्लबको आयोजनामा सम्पन्न भएको उक्त महोत्सवमा कुसाङ छोटी सेर्पाको संयोजकत्वमा ९ जना कलाकारको  नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा वाङछु शेर्पाको सभापतित्वका साथै प्रमुख अतिथि वडाध्यक्ष नुर्बु सेर्पासँगै अन्य विशिष्ट अतिथिको पनि उपस्थिति रहेको थियो ।

रामेछाप उमाकुण्ड १ मा अवस्थित यस काउछोर्तेन बौद्ध जिल्लाको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । पिरामिड शैलीमा बौद्ध आकार बनेको यो स्तुपा ९ तलाको रहको छ । यस बौद्धमा पुगेर शुद्ध मनले ध्यान गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । प्राकृतिक कलाले भरिएको यस बौद्ध स्तुपा पुग्न अलि कठिन भए पनि बुद्ध जयन्तीमा पूजाआजा गर्न स्थानीयहरू जाने गरेका छन् ।

धार्मिक स्थल मात्र नभएर नुम्वुर हिमालको मनोरम दृश्य सँगै अन्य प्राकृतिक सौन्दर्य पनि यस क्षेत्रमा देख्न पाइन्छ । जिल्लाको कम विकसित क्षेत्र भएका कारण पर्यटक पुग्न नसके पनि अव भने बिस्तारै यातायात को सुविधा हुँदै गएको कारण त्यस ठाउँमा गएर रमाउन सकिन्छ ।

काउछोर्तेन बौद्धको पत्ता भने आज भन्दा २ हजार वर्ष अगाडी लगेको हो । उक्त समयमा चौँरी चराउन जाँदा चौँरी गोठालो निदाएको समयमा सपनामा प्राकृतिक बौद्धको दर्शन गरेको देखेपछि चौँरी गोठालो विँउझिएको र विँउझीदा पनि सोही बौद्धलाई आँखै अगाडी देखेपछि साँच्चीकै शक्तपीट शक्ति पीठ रहेको भन्दै उक्त गोठालोले पूजा आजा गरि बौद्धलाई नामकरण गरि काउछेर्तेन राखिएको इतिहास रहेको छ ।