Logo

बागमती पेज

जेष्ठ १९, २०७९ बिहीबार

काठमाडौँलाई बस्न योग्य राजधानी बनाउनुपर्छ : जीवनराम श्रेष्ठ


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काठमाडौँलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले काठमाडौँ वासी नै प्रधानमन्त्री र महत्त्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे। उनले सरकारको ध्यान राजधानी बनाउने कुराहरूमा जान नसकेको पनि बताए ।

सांसद श्रेष्ठले काठमाडौँलाई बस्न, घुम्न, हेर्न र हिँडडुल गर्न सक्ने राजधानी बनाउनुपर्नेमा जोड दिए । उनले काठमाडौँ जस्तो सांस्कृतिक सहर लाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिए ।

‘राजधानीलाई बनाउने कुरामा एकीकृत ढङ्गबाट योजना ल्याउने, देशका पूर्वाधार गर्ने कुराहरू गर्नुपर्छ । आज पनि राजधानीको बिच सडकमा पानी जम्ने, घरभित्र पानी पस्ने, जसले जनजीवन अस्तव्यस्त बनाइरहेको छ ।’ उनले भने, ‘राजधानीमा ५ मिनेट हिँडेर घुमौँ भन्ने वातावरण छैन । हामी समृद्धिका कुरा गरिरहेका छौँ । तर आज राजधानी बनाउने कुरा गर्दैनौँ भने हाम्रो देश बनाएका छौँ भनेर कसैलाई पनि भन्न सक्दैनौँ ।’

सांसद श्रेष्ठले काठमाडौँमा र्‍यापिट ट्रान्जिट खालका बसको सिस्टम अघि बढाउन पनि सरकारसँग आग्रह गरे ।