Logo

बागमती पेज

जेष्ठ २९, २०७९ आईतबार

जनप्रतिनिधि हुन् त यस्तो, जसले आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाइदिए !


काठमाडौँ । भर्खरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । धेरै पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले आफूले यो सुविधा चाहियो, त्यो सुविधा चाहियो भनेर लफडा गरिरहेका छन् । तर चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी आफुले पाउने सेवा सुविधा समेत समाजको हितको लागि प्रयोग गर्ने भएका छन् ।

बुढाथोकीले आफ्नो पूर्व घोषणा अनुसार आफूले नगरपालिकाबाट पाउने सुविधाको बा २ झ १६२३ नं. सुविधाको गाडी चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेका छन् । निर्वाचित हुनु अघि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरेका थिए ।

उपप्रमुखले आज एक कार्यक्रम बिच उक्त गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् । उक्त गाडी नगर क्षेत्रभित्र रहेका जेष्ठ नागरिक, शारीरिक अशक्त, दीर्घरोगी, बिरामीहरूको सेवामा उपयोग गरिने अस्पतालले जानकारी दिएको छ ।

‘सो गाडीले घरदैलोमै गई बिरामीलाई चिकित्सकीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताललाई हस्तान्तरण गरिएको हो’, उपप्रमुख बुढाथोकीले भने ।

उनले पाउने तलब भत्ता पनि छुट्टै कोष खडा गरि नगर क्षेत्रका गरिव जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त व्यक्तिहरुको वृद्धि विकासको क्षेत्रमा खर्च गरिने बताए । उद्यमशिलता एवंम स्वरोजगारका क्षेत्रमा खर्च गरिने कुरा उनको भनाइ । उनी नेकपा एमालको तर्फबाट निर्वाचित भएका हुन् ।