Logo

मेघनाथ पहाडी

असार ६, २०७९ सोमबार

विश्वमा चिनिएका पुष्कर शाह चुनावी मैदानमा, काठमाडौं बन्यो तरङ्गित


काठमाडौँ । स्थानीय तह निर्वाचनमा केही पालिकामा स्वतन्त्र उम्मेदवारले पाएको सफलताको प्रभाव प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देखिने भएको छ ।

अहिले एकपछि अर्को गर्दै संघीय चुनावमा स्वतन्त्र उम्मेदवारीको घोषणा भइरहेको छ । त्यो लहरमा विश्व साइकलयात्री पुष्कर शाह पनि देखिएका छन् ।

उनले काठमाडौंको क्षेत्र नं १ वा २ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने बताएका छन् । क्षेत्र नं १ बाट पुष्कर बमले उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रभावशाली स्वतन्त्र उम्मेदवारहरू एउटै क्षेत्रबाट नलड्न एलायन्स बनाइएकाले आपसी सल्लाहपछि निर्वाचन क्षेत्र टुंगो लाग्ने शाहले बताए ।

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उठेर झण्डै १३ हजार मत ल्याएका सुमन सायमीको अगुवाइमा स्वतन्त्र उम्मेदवारहरूको एलायन्स नै बनेको छ । उनले काठमाडौंको क्षेत्र नं. ८ बाट उम्मेदवारी दिँदैछन् ।

त्यस्तै, रञ्जु दर्शना क्षेत्र नं. ५ बाट उठ्ने निधो भएको छ भने हरिशरण लामिछानेले क्षेत्र नं. ३ बाट उठ्ने घोषणा गरेका छन् । सो क्षेत्रमा उनका सहोदर भाइ रवि लामिछानेले पनि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।