Logo

बागमती पेज

असार ७, २०७९ मंगलबार

बागमती प्रदेश : २६ दिनमा ३३ अर्ब बजेट खर्च कति सम्भव ?


काठमाडौं । बजेट कार्यान्वयनमा बागमती प्रदेश सरकार यस वर्ष पनि असफल साबित भएको छ । चालु आर्थिक वर्ष सकिन २५ दिन बाँकी रहँदा वार्षिक बजेटको ५८ प्रतिशत खर्च गर्न बाँकी छ ।

प्रदेश सरकारलाई आगामी २६ दिनमा ३३ अर्ब भन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ । प्रदेश सरकारले आगामी असार मसान्तसम्ममा ३३ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४२ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको प्रदेश सरकारले बजेट खर्चको लक्ष्य पूरा गर्न आगामी २५ दिनमा कम्तीमा २८ प्रतिशत बजेट खर्च गर्नुपर्ने छ ।

प्रदेश सरकारको विभिन्न निकायहरुले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल बजेटको ४२ दशमलव ४२ प्रतिशतमात्र खर्च गरेका छन् । ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेटमध्ये प्रदेश सरकारका विभिन्न मन्त्रालय र निकायले २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ अहिलेसम्म खर्च गरेका छन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको कुल बजेट मध्ये चालु खर्च तर्फ ४६ दशमलव ८२ प्रतिशत, पुँजीगत तर्फ ३६ दशमलव ५८ प्रतिशत र वित्तीयतर्फ ६५ प्रतिशत खर्च गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ २६ अर्ब १६ करोड ६६ लाख रुपैयाँ, पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख रुपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । बजेट कार्यान्वयनमा पुरानै शैली अपनाउँदा सरकारको खर्च बढ्न नसकेको अर्थ विज्ञहरु बताउँछन् । सरकार परिवर्तनका कारणले पनि बजेट खर्च हुन नसकेको उनीहरुको भनाइ छ । – गणेश दुलाल