Logo

बागमती पेज

असार ९, २०७९ बिहीबार

उप-प्रमुख अनितालामाको नेतृत्वमा ‘मेडपा’ कार्यक्रमको अनुगमन


काठमाडौँ । सिप सिकौँ, सिपको सदुपयोग गरी उद्यमी बनौँ” भन्ने मूल नाराका साथ उद्योग स्थापना गरी रोजगारका अवसर सिर्जना गर्ने गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ‘मेड्पा’को उप-प्रमुख अनिता लामाको नेतृत्वमा आजबाट अनुगमन सुरु भएको छ ।

बूढानीलकण्ठ उद्यम विकास समिति मार्फत विभिन्न वडाका सिप सिक्न इच्छुक समूहमा सञ्चालन भएको तालिमहरूको अनुगमन सुरु भएको हो ।

मेडपाको आर्थिक वर्ष २०७८\७९ को कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको १० दिने तरकारी खेती तथा पशुपालन तालिम , १५ दिने बेकरी एडभान्स तथा आधारभूत तालिम र १ महिने कफी बारिष्टा तालिमको आज उप-प्रमुख अनिता लामाको नेतृत्वमा अनुगमन भएको थियो ।

उद्यम विकास समितिले मेडपा कार्यक्रम मार्फत नगरपालिकामा ८० वटा उद्यमी तयार पार्ने लक्ष्य लिएको छ।

उप-प्रमुख लामा सहित उद्योग पर्यटन शाखा प्रमुख भोला ढुङ्गाना, उद्यम विकास सहजकर्ता जनार्दन मिश्रको संयुक्त टोलीले अनुगमन मार्फत प्रशिक्षणको प्रभावकारिता निरीक्षण गर्नु भएको थियो । तालिम पश्चात् सञ्चालन गर्न सकिने सम्भावित योजनाहरू बारे उप-प्रमुख लामाले प्रशिक्षार्थीहरू सँग अन्तरक्रिया समेत गर्नु भयो ।

वडा नं ०९ र १० का संयुक्त कफी बारिष्टा तालिम लिई रहेका २३ जना समूहको जागरूकता र उत्साह देखेर निकै गर्व लागेको बताउँदै तालिममा सिकेका सिपको सही सदुपयोग गरी आफ्नै व्यवसाय सञ्चालन गर्न उहाँले सबैलाई आग्रह गर्नु भएको थियो ।

“सँगै तालिम लिई रहनुभएका प्रशिक्षार्थीहरू एकीकृत समूह बनाएर व्यवसाय दर्ता गर्दा धेरै क्षेत्रमा फाइदा हुन सक्छ, लामाले बताउनुभयो “यसमा आवश्यक सहयोग र सहकार्यका लागि नगरपालिकाको तर्फबाट हामी सधैँ तयार छौँ” ।

अनुगमनकै क्रममा १ महिने कफी बारिष्टा तालिम लिई रहेका विद्यार्थीहरू तालिम पश्चात् ‘कफी सप’ खोल्न आफूहरूले ५ जनाको समूह बनाई सकेको बताउँदै यसको दर्ता प्रक्रियाबारे सहजीकरण गरिदिनुहुन उद्यम सहजकर्ता जनार्दन मिश्रलाई अनुरोध गरे । यस्तै १५ दिने तरकारी तथा पशुपालन तालिम लिई रहेका महिला समूहहरूले आफूहरूमा सिप र क्षमता वृद्धि भएको बताए । उनीहरूको तरकारी व्यवसाय गर्दै आत्म निर्भर हुने सोच छ ।

के हो मेडपा कार्यक्रम ?
गरिब तथा बेरोजगार व्यक्तिहरू लक्षित यस कार्यक्रमले विभिन्न किसिमका सिप मूलक तालिमहरू प्रदान गर्दै आएको छ । यसका साथै आफ्नै व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई प्राविधिक सहयोग, ऋण तथा कर्जाको लागी वित्तीय संस्थाहरूसँग सहजीकरण गराइदिने र उत्पादन भएका वस्तुहरूको बजारीकरणमा सहयोग पनि गर्ने गरेको छ ।

८० जना नयाँ उद्यमी सिर्जना गर्ने र भई रहेका उद्यमीहरूको स्तर उन्नति गर्ने लक्ष्य रहेको कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तालिम, सीप विकास तालिम, वित्तीय संस्थामा पहुँच, उपयुक्त प्रविधि पहुँच र बजारीकरणमा सहयोग गर्ने योजना रहेको छ ।