Logo

बागमती पेज

असार १०, २०७९ शुक्रबार

दोलखामा प्रेसर कुकर बिष्फोट, चार वालवालिका घाईते


काठमाडौँ । दोलखाको शैलुङ गाउँपालिका फस्कु स्थित एक बिद्यालयमा प्रेसर कुकर बिष्फोट हुँदा एक छात्रा गम्भिर घाईते भएकी छिन् ।

फस्कुस्थित कालिका मावि दार्खामा बिद्यालय समयमा कक्षा कोठामा प्रेसर कुकर बिष्फोट हुँदा चार जना बिद्यार्थी घाईते भएका हुन् । गम्भिर घाईते भएकी छात्रा अनिषा नेपालीको काठमाण्डौं स्थित कान्ति बाल अस्पतालमा उपचार भईरहेको छ । कक्षा ३ मा अध्ययनरत छात्राको अनुहार र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।

अन्य ३ जना घाईते बिद्यार्थीलाई भने सामान्य उपचार पछि घर फर्किएका छन् । कक्षा ३ मा अध्ययनरत रविना खवास र लोप्साङ तामाङ तथा कक्षा ४ मा अध्ययनरत आयुषा बुढाथोकी घाईते भएका थिए ।

सो घटना असार २ गते विहिवारका दिन घटे पनि बिद्यालय प्रशासनले घटनालाई गुपचुप राखेको थियो । शिक्षक र बिद्यार्थीलाई खाजा बनाउने कोठा र कक्षा ३ को कक्षा कोठा एकै ठाउँमा भएका कारण प्रेसर कुकर पड्किएर बिद्यार्थी घाईते भएको अभिभावकहरुले बताएका छन् ।

तर, बिद्यालयका प्रधानाध्यापक सिद्धि वहादुर खड्काले भान्छा कोठा र कक्षाकोठा एकै ठाउँमा नभएको र कुकर बिष्फोट नभएको दावी गरेका छन् । प्रधानाध्यापक खड्काले कुकरमा चना केराउ पकाएको र खोल्ने क्रममा तातो पानी पोखिएर चार जना बिद्यार्थीको अनुहार र हातमा पोलेको बताएका हुन् ।