Logo

बागमती पेज

असार १०, २०७९ शुक्रबार

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता दिइने



काठमाडौँ । नवलपरासी गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ।

गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९ /८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो। बिहीबार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरी भत्ता उपलब्ध गराइने गैँडाकोट नगरका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए।

त्यस्तै, नगरपालिकाले आमा घर कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। विशेषगरी गैँडाकोट ३ र १८ का गर्भवतीको सुविधाको लागि सुत्केरी हुने मितिभन्दा एकहप्ता पहिलेदेखि नै आमालाई त्यस्तो घरमा बस्ने व्यवस्था गरिने, सुत्केरी भएपछि पनि बस्न दिइने र पोषिलो खाना उपलब्ध गराइने उनले बताइन्।

गर्भवतीको सुविधाको लागि नगरपालिकाको वडा नं ३ र १८ स्थित नगर अस्पतालमा आमा घर सञ्चालन गरी सेवा दिइने उल्लेख गरिएको छ । सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, हरेक घरमा खानेपानीका धारा, जनस्वास्थ्यमा लगानी भन्ने नीति लिइएको छ।