Logo

मेघनाथ पहाडी

असार १३, २०७९ सोमबार

सबै निर्वाचन क्षेत्रमा समानुपातिक ढङ्गले बजेट निर्माण आवश्यक : सांसद दीपक निरौला


काठमाडौँ, १३ असार ।

बागमती प्रदेश सभाको विनियोजन विधेयकको छलफलमा सांसद दीपक निरौलाले सबै जिल्ला तथा निर्वाचन क्षेत्रमा समानुपातिक ढङ्गले बजेट विनियोजन नभएको प्रति आपत्ति जनाएका छन् ।

सांसद निरौलाले असार २ गते चलिरहेको छलफलमा उठाइएको प्रश्नलाई समेत ध्यान नदिएर यस सरकारले कुन विकास निर्माणका कामहरू कति आवश्यक रहेका छन् भन्ने खालका कुरा ध्यान नदिएर गौरवका योजना छाडेर साना तथा टुक्रे योजना ल्याएको प्रति आपत्ति जनाएका हुन् ।

वर्षाको समय सुरु भएसँगै हेटौँडा–काठमाडौँ आवत–जावत गर्ने सडकमा समेत ध्यान नदिएको भन्दै वर्षाको समयमा हुने समस्या समाधानको तत्कालिन समस्या समाधान तथा दीर्घकालीन योजनाहरू ल्याउन समेत अनुरोध गरेका थिए ।

निर्वाचन लक्षित बजेट ः सरकारमा भएका मुख्यमन्त्री र अर्थमन्त्रीको निर्वाचन क्षेत्र र वडालाई मुख्य प्राथमिकतामा राखिएको छ । प्रदेश भित्र कति वटा जिल्ला र कति निर्वाचन क्षेत्र छन् भन्ने कुरालाई यहाँ स्मरण गरिएको छैन । सांसद निरौलाले प्रदेश भित्रका १३ जिल्ला र ६६ निर्वाचन क्षेत्रलाई समानुपातिक ढङ्गले बजेट विनियोजन गर्न आवश्यक रहेको भन्दै गम्भीर ध्यानाकर्षण गरे ।

मुख्य प्रतिपक्षीको रूपमा रहेका सबै दलसँग आवश्यक छलफल गर्दै सबै क्षेत्रमा समानुपातिक ढङ्गले बजेट विनियोजन गर्न आवश्यक थियो । यस्ता किसिमका कुरालाई ध्यान नदिएर कुन सांसदको क्षेत्रमा कति योजना र कति करोड बजेट दिने भन्ने विषयमा मात्र यो सरकार सीमित रहेको देखिन्छ ।

प्रस्तुत गरिएको बजेटमा काहीँ एउटै वडामा ६१ वटा बजेट योजना ? यति मात्रै हैन झन्डै ४०० योजना दोहोरिएका छन् । कुनै योजना त ५/५ पटक समेत राखिएको छ । यसबाट हामीले अनुमान गर्न सक्छौ कि यो सरकार कति जिम्मेवार छ ? हाम्रो प्रदेश कसरी योजना ल्याउँदै छ ? यस्तो किसिमले ल्याएका योजना कति प्रभावकारी हुन्छन् ? भन्दै सांसद दीपक निरौलाले यी लगायत विभिन्न कुरालाई ध्यान दिन आवश्यक रहेको बताए ।