Logo

बागमती पेज

असार २२, २०७९ बुधबार

पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छु : पर्यटनमन्त्री श्रेष्ठ


काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएका छन् ।

बुधवार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ ।

सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न संघीय पर्यटन मन्त्रालयमा बुझाएको थियो । जसमा पर्यटनमन्त्री श्रेष्ठले पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने प्रस्ताव प्रक्रिया तत्काल थाल्ने बताए । मन्त्री श्रेष्ठले पोखरा पर्यटकको लागि एक गन्तव्य भएको भन्दै पोखरालाई व्यवस्थित र आकर्षण बनाउन आवश्यक रहेको उल्लेख गरे ।

त्यस्तै,पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकहरुको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीब्र रुपमा अगाडि बढाउने बताए । उनले पर्यटक आउने पर्यटन बसपार्क अव्यवस्थित भएकाले अब पर्यटन बसपार्क व्यवस्थित बनाउने बताए ।

मेयर आचार्यले १८ रोपनी क्षेत्रफलमा फैलिएको पर्यटन बसपार्क करिव ८ करोडको लगानीमा निर्माण सम्पन्न भएर आजबाट त्यसको जिम्मेवारी महानगरलाई आएको बताए । मेयर आचार्यले पर्यटन बसपार्क निर्माणले पोखराको समग्र पर्यटन विकासका लागि ठूलो योगदान पुर्याउने बताए ।