Logo

बागमती पेज

असार २५, २०७९ शनिबार

श्रीलंका :‘गोटा गो होम’ को नारा लगाउँदै राष्ट्रपति भवन पसे प्रदर्शनकारी


काठमाडौं : श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । निवास प्रवेश गर्ने क्रममा प्रदर्शनकारीले ‘गोटो गो होम’को नारा लगाएका थिए ।

समाचार अनुसार प्रदर्शनकारी आवासीय निवासमा प्रवेश गर्नुअघि राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरिसकेका छन् । यद्यपि उनी कहाँ गएका छन् भन्ने केही बताइएको छैन । कोलम्बोमा अहिले स्थिति तनावपूर्ण छ ।

प्रदर्शनकारीले राष्ट्रपति गोटोबाया राजापाक्षे वर्तमान संकटको लागि जिम्मेबार भन्दै उनको राजीनामा माग गरिरहेका छन् । यसअघि प्रधानमन्त्री पदमा आसिन गोटाबायाका दाई महिन्दा राजापाक्षले विरोधपछि राजीनामा दिएका थिए ।

शनिबार बृहत प्रदर्शन आह्वान गरिएको थियो । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको समाचार एजेन्सीले लेखेका छन् । यसबाट केही घाइते भएपनि भिडलाई त्यसले खासै प्रभाव पार्न सकेको छैन ।

यसबीच, देशका प्रधानमन्त्री रनिल विक्रमबहादुरले विभिन्न पार्टी नेताहरु सम्मिलित आकस्मिक बैठक बोलाएका छन् । श्रीलंकामा लामो समयदेखि मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा प्रदर्शन भइरहेको छ । शनिबारको प्रदर्शनमा सहभागी हुन देशका विभिन्न भागबाट मानिसहरु कोलम्बो पुगेका छन् । एजेन्सी