काठमाडौँ : यस बर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गर्न काठमाडौँ महानगरपालिकाले आन्तरिक तयारी थालेको छ ।
साउन १ गतेको छैटौँ कार्यपालिका बैठकले यस विषयमा निर्णय गरिसकेको छ । निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति हुनेछ । त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहनुहुनेछ ।
आज प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय रहेका छन् । बैठकमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालसहित विभागीय प्रमुखहरु थिए ।
यस बर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ । यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरुलाई निमन्त्रणा गर्ने तयारी छ । प्रमुखहरुका साथमा ४ जना अधिकारीहरुलाई निम्ता दिइनेछ । यसरी २५ वटा नगर प्रत्येकबाट ४ जना सहभागी आउँदा १ सय जना पाहुना आउनुहुनेछ ।
२०७६ सालको इन्द्रजात्रामा ६ वटा देशका १३ वटा नगरलाई निम्ता गरेको थियो । तीमध्ये ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयर/उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी थिए । त्यसपछिका बर्षहरुमा कोविड १९ संक्रमणका कारण अन्तरराष्ट्रिय सम्बन्ध भएका कुनै पनि नगरबाट कसैलाई पनि बोलाइएन ।
प्रतिक्रिया दिनुहोस्