Logo

बागमती पेज

श्रावण १२, २०७९ बिहीबार

कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ: प्रधानमन्त्री देउवा


sher-bahadur-deuba

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । केही सयमयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताएका हुन् ।

वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यको विकास गर्नुपर्ने बताए ।

क्यान्सरजस्ता घातक रोगहरुको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिनुपर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । उनले भने, ‘केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैलिदै जाने खतरा देखिएको छ । अझ यसलाई पूर्ण रुपमा नियन्त्रण गर्दै भविष्यमा आउनसक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य हामीले विकास गर्नुपर्ने खाँचो छ ।

प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको पनि बताए । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उनले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत सरकार गरेको बताए ।

वीर अस्पतालका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्रकुमार बस्नेतले बिरामीहरुको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गरे । उनले पुराना भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको समेत आवश्यक्ता रहेको बताए ।