Logo

बागमती पेज

श्रावण १५, २०७९ आईतबार

बचतकर्ताको रकम फिर्ता नगरी गौतमश्री सहकारी संस्था फरार


काठमाडौँ । संघीय राजधानी काठमाडौंलाई नै मुख्य व्यवसायिक क्षेत्र बनाएर सञ्चालनमा रहेको गौतमश्री सहकारी संस्था बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएको छ । काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीले झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएको उजुरी सहकारी विभागमा परेको हो ।

लामो समयदेखि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीले गत शुक्रबार मुख्य कार्यालयमा नै ताल्चा लगाएर भागेपछि सदस्यहरु आन्दोलित भएका छन् । फरार सहकारीलाई खोजेर बचत रकम फिर्ता गराइदिन भन्दै गौतमश्री सहकारीका करिब १५ सय बचतकर्ताहरु आइतबार विभागमा उजुरी दिन पुगेका छन् ।

घटनाको प्रकृति र बचतकर्ताहरुको उजुरीका आधारमा उक्त सहकारीमाथि अनुसन्धान र कारबाही अघि बढाइने रजिष्ट्रार पण्डितले जानकारी दिए । शुक्रबार मुख्य कार्यालय नै बन्द गरेर फरार भएपछि कुलेश्वरस्थित गौतमश्री सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ ।

सहकारीमा बैंकको कुनै पनि लगानी नभएपनि सहकारी रहेको भवनमा नै सञ्चालित गौतमश्री काउ फार्म एण्ड डेरी उद्योग र कृषि तथा अन्य सामग्रीको स्टोर रहेको र सोमा बैंकको लगानी रहेकाले संरक्षणका लागि सिल गरिएको बैंकले जनाएको छ ।