Logo

बागमती पेज

श्रावण १७, २०७९ मंगलबार

ललितपुरमा सडक ‘वान वे’ गर्ने विषयमा प्रहरी र महानगरबीच विवाद


ललितपुर । ललितपुर महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरी र महानगरबीच विवाद उत्पन्न भएको छ । ललितपुरको नख्खु सडक र बखुन्डोलमा महानगरपालिकाले थालेको एकतर्फी सडक आवत जावतको पद्धतिलाई प्रहरीले हटाइदिएपछि महानगरपालिकाले फेरि नगर प्रहरी राखेर एकतर्फी बनाएको छ ।

सवारी ‘वान वे’ बनाउन राखिएका ट्राफिक संकेतका सामग्री तथा अन्य सामग्रीहरु प्रहरीले उठाएपछि महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीदेखि आईजीपी धिरजप्रताप सिंहसँग समेत कुराकानी गरेका थिए ।

तर प्रहरीले सहमति नजनाएपछि उनी आफै नगर प्रहरी लिएर प्रहरीले हटाएको ‘वान वे’ कायम गरेर फर्किएका छन् । धेरै सडक जान हुने ठाउँमा ‘वान वे’ कायम गरेपछि स्थानीयबासीदेखि कतारका राजदूतले समेत आफूलाई धन्यवाद दिएको नगरप्रमुख महर्जनले रातोपाटीलाई जानकारी दिए ।

तर, स्थानीयले सवारी चाप नहुँदा नहुँदै घुमेर आफ्नो घर जानुपर्ने गरी वान वे सिस्टम लागु गरेको भन्दै आईजीपी सिंहलाई नै गुनासो गरेको प्रहरी महानिरीक्षकको सचिवालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

महर्जनचाहिँ बखुन्डोलको ब्रिटिस स्कुल नजिकको सडक क्षेत्रमा अत्यधिक ट्राफिक जाम हुने गरेकोमा ‘वान वे’ कायम गरेको र त्यसयता यातायात सञ्चालनमा सहज भएको दाबी गर्छन् । नख्खु पुलबाट चक्रपथतर्फ आउँदा दायाँतर्फ मोड्न नपाइने नियम बसालेपछि ट्राफिक जाम हटेको उनको जिकिर छ ।

उनले आईजिपी सिंहलाई फोनमा फेरि त्यो स्थानलाई नचलाउन भनेका छन् । साउनको पहिलो सातादेखि ललितपुर महानगरका सवारी जाम धेरै हुने स्थानमा ‘वान वे’ बनाउन थालिएको थियो ।