Logo

बागमती पेज

श्रावण २०, २०७९ शुक्रबार

बस्ती फर्किँदै सप्तकोशीका विस्थापित


काठमाडौँ । सप्तकोशीमा पानीको सतह घटेसँगै बाँध फुटाएर वस्ती पसेको पानीको सतह पनि घटेको छ । उदयपुरको बेलका नगरपालिका १ डुम्रीबोटेबाट सप्तकोशी गत मंगलबार पुरानै धारमा बग्न सुरु गरेको थियो ।

जसको कारणले बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाका विभिन्न स्थानको मानवबस्ती जोखिममा छ । त्यस्तै सुनसरीको बराह नगरपालिकाको ९ र ६ नम्बर वडाका २० हजार मानिस प्रभावित भएका थिए ।

दुई दिनयता कोशीमा पानीको बहाव कम भएको र बाँध फुटेको स्थानबाट बस्तीमा पसेको पानीको सतह पनि कम भएका कारण कम जोखिमको महसुस गर्दै सर्वसाधारण आफ्नै थातथलोमा फर्किएका हुन् ।

२०४५ सालको भूकम्पपछि धार परिवर्तन गरेको सप्तकोशीले पुनः सोही धार पक्डन खोजेको थियो । यद्यपि वर्षा रोकिएका कारण ठूलो क्षति हुन भने पाएन । गत वर्ष पनि यस्तै भंगालो गाउँतिर पस्न थालेपछि स्थानीयले त्यसलाई रोकेका थिए ।