Logo

बागमती पेज

श्रावण २६, २०७९ बिहीबार

नोबेलले हातपार्यो माफको अन्तर विद्यालय फुटसलको उपाधि


काठमाडौँ । निजी विद्यालयहरूको छाता सङ्गठन म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा भएको दोश्रो अन्तर विद्यालय फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ । माफमा आबद्ध विद्यालयहरू बिचको फुटसल टुर्नामेन्ट भव्य रूपमा सम्पन्न भएको हो ।

पाँच फिटसम्म उचाइ भएका विद्यार्थीहरूले मात्र भाग लिन पाउने प्रावधान राखिएको प्रतियोगितामा १५ विद्यालयबाट १५ टिम सहभागी भएका थिए ।

धुम्बाराहीमा रहेको धन्वन्तरि फुटसलमा भएको फुटसल टुर्नामेन्टमा गु्रप ‘ए’ देखि ‘डी’ सम्मको समूह चरणमा विभाजन गरी खेल खेलाइएको थियो ।

टुर्नामेन्टको पहिलो दिन समूह चरण अन्तर्गतको खेलहरू सम्पन्न गरिएको थियो । जसबाट ८ टिमले विजय हासिल गरेका थिए । गोल्डेन पिक हाइ स्कुल, जगत मन्दिर सेकेन्डरी स्कुल, नोबेल एकेडेमी, पिस प्वाइन्ट बोर्डिङ स्कुल, बेबिलोन नेशनल स्कुल, शाम्भवी स्कुल, लाइसियम मोडेल स्कुल र न्यु अरुणोदय स्कुल विजयी भएका थिए ।

बुधबार भएको फाइनल खेलमा बेबिलोन नेशनल स्कूललाई पछि पार्दै नोबेल एकेडेमीले फुटसल टुर्नामेन्टको उपाधि जित्न सफल भयो । गोल्डेन पिक हाई स्कूल र लाइसियम मोडेल स्कूलले तेश्रो स्थान हासिल गरे ।

समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै विजयी टिमलाई पुरस्कृत गरिएको थियो । विजयी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

विजयी टिम तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा माफका निवर्तमान अध्यक्ष राजन आचार्य, प्याब्सन काठमाडौँकी सहसचिव ईशु गुरुङ, इलिक्सर एकेडेमीका प्रिन्सिपल रविन दाहाल, माफ कार्यसमिति लगायतको उपस्थिति रहेको थियो ।