Logo

बागमती पेज

भाद्र ७, २०७९ मंगलबार

राष्ट्रिय ट्रमा सेन्टर र हेटौंडा अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं र हेटौंडा अस्पतालले अनलाइन टिकट सेवा सुरु गरेको छ । मिदास टेक्नोलोजीको सहयोगमा दुवै अस्पतालले सेवा डिजिटलाइज गरेका हुन् ।

यो सेवापछि अस्पतालमा स्वास्थ्य परीक्षण गराउनका लागि बिहानैदेखि घण्टौं लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउने विश्वास गरिएको छ ।

यो सेवामार्फत बिरामीहरू आफैं अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने मिदासले जनाएको छ । कोरोना (कोभिड-१९) महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।

यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायत अस्पतालमा उपलब्ध छन् ।

अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था मिलाएको मिदासले जनाएको छ ।