Logo

बागमती पेज

भाद्र ९, २०७९ बिहीबार

ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट बनाउने कारखानामा प्रहरीको छापा


काठमाडौँ । आयातित मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट (नक्कली )बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए ।

दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको छ ।

नक्कली मदिरा बनाएको कसुरमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य संचालक भगवान बस्नेत र दोलखाको कालिञ्चोक घर भएका हरि वली छन् । वली विक्रेता हुन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित घनश्याम मैनालीको घर भाडामा लिएर अरोपीहरुले नक्कली मदिरा तयार गर्ने गरेका थिए । वल्ड दरबार नामको मदिरासँग पानी र केमिकल मिसाएर ब्ल्याक लेबल र डबल ब्ल्याक लेबल बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।