Logo

बागमती पेज

भाद्र १०, २०७९ शुक्रबार

‘कुमारी आमा’ निहारिका राजपुतद्धरा अभिनेत्री करिश्मा मानन्धरविरुद्ध उजुरी


काठमाडौं । आफ्ना निजी तस्वीरहरु अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरविरुद्ध उजुरी दिने भएकी छन् । उनले आजै साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको बताइन् ।

करिश्माले केही दिनअघि निहारिका र उनका पूर्वप्रेमी शिवराज श्रेष्ठका अन्तरंग तस्वीरहरु सामाजिक सञ्जालमा राखेकी थिइन् । शिवराजले नै आफूलाई बलात्कार गरेर बच्चा जन्मिएको भन्दै निहारिकाले न्यायको लडाईं लडिरहेकी छन् । अस्ति मात्रै जकपुर उच्च अदालतले उनको बच्चा र आरोपीको डीएनए टेस्टका लागि आदेश दिएको छ ।

निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनको पक्षमा आवाज उठाएकी थिइन् । उनले सामाजिक सञ्जालमा निहारिकाप्रति सहानुभूति दर्शाउनुका साथै उनलाई आर्थिक सहयोग समेत गरेकी गरिन् । करिश्मा अनशनस्थलमै आफ्ना म्यानेजरलाई पठाएर २० हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

निहारिकाले आज करिश्माले गरेको सो आर्थिक सहयोगसमेत फिर्ता गर्ने भएकी छन् । उनले करिश्माको गोदावरीस्थित घरमै पुगेर पैसा फिर्ता गर्ने बताइन् ।

करिश्माले सामाजिक सञ्जालमा निहारिकाको तस्वीहरु पोष्ट गर्दै उनको बलात्कार नभएको पुष्टि गर्न खोजेकी थिइन् । तर, चर्को आलोचना भएपछि उनले केही दिनमा उक्त पोष्ट हटाइन् । सोही पोष्टको स्क्रिनसटसहित निहारिकाले उजुरी गर्न लागेकी हुन् ।