काठमाडौँ । लेखक तथा पत्रकार ईश्वर दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक गरिएको छ । पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा आख्यानकार बुद्धिसागर चपाई, लेखक वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र उपन्यासका लेखक ईश्वर दाहालले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका छन् ।
लेखक दाहालको यसअघि ‘तात्दैछन् चिसा मानचित्रहरु’ उपन्यास र ‘मेरा महान चित्रकारिता’ कथासङ्ग्रह प्रकाशित छन् । सिन्धुलीका लेखक दाहालले १९ वर्षको उमेरमा महाकाव्य लेखेका हुन् ।
लेखक तथा पत्रकार वसन्त बस्नेतले उपन्यासमा पत्रकारको मनोदशालाई झरिलो तरिकाले चित्रण गरेको बताए । उनले पात्रहरूको परिवेश र अन्तरसंघर्षबारे उपन्यासमा मीठो शैली प्रस्तुत गरिएको चर्चा गरे ।
उपन्यासको चर्चा गर्दै बस्नेतले भने, “विसं २०४६ साल यता नेपालमा भएका राजनीतिक परिवर्तनलाई आम मान्छेको आँखाबाट उपन्यास लेखिएको छ ।” समाजशास्त्री नारायणी देवकोटाले उपन्यासले आफ्नो पुस्ताको कथा भन्न सफल भएको बताए ।
उनले भने, “देशको राजनीतिक परिवर्तनका रोचक कथा उपन्यासमा पाएँ । बाल्यकालदेखि समाजमा देखेका, भोगेका सामाजिक र राजनीतिक परिवर्तन र पात्रलाई उपन्यासमा उतार्ने प्रयास गरेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्