Logo

बागमती पेज

भाद्र २२, २०७९ बुधबार

कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको किटानी जाहेरी दर्ता


काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको किटानी जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी दर्ता भएको उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्र धानुकले बताए ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेपछि सो सूचना काठमाडौँका एसएसपी भरत बोहराकहाँ पुगेको थियो । बोहराले उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्र धानुकलाई त्यसबारे जानकारी गराए ।

प्रहरी स्रोतका अनुसार नाबालिग १७ वर्षीया हुन् । स्न्यापच्याट र हवाट्एप मार्फत कुराकानी भएपछि नाबालिगलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

अनुसन्धान अधिकृतहरूका अनुसार एयरपोर्ट स्थित शम्भु मार्गमा रहेको काठमाडौँ इन होटेलमा लगेर सन्दीपले बलात्कार गरेको आरोप छ । सो होटेलमा प्रहरीले घटनास्थल मुचुल्का गर्ने तयारी गरेको छ । नगरकोटमा पीडितलाई घुमाएको होटल, रेष्टुरेष्टको सिसिटिभी फुटेज सङ्कलनका लागि अनुसन्धान टोली परिचालन गरिएको छ ।

प्रहरीले थापाथली अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गराएको छ । नाबालिगले आफ्नो साथीसँग सन्दीपले बलात्कार गरेको कुरा सेयर गरेपछि घटना बाहिरिएको थियो । सन्दीप अहिले विदेशमा छन् ।