Logo

बागमती पेज

भाद्र २४, २०७९ शुक्रबार

काँग्रेसलाई नयाँ बनाउन आवश्यक छ : महामन्त्री शर्मा


काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताएका छन् । शुक्रवार सुन्दरीजलमा नेपाली काँग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तरतामा नवीनता थपेर अघि बढाउन आवश्यक रहेको बताए । उनले विगतका कमी कमजोरीलाई आत्मालोचना गरी रुपान्तरित काँग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको पनि बताए ।

उनले भने, ‘हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नविन बन्नुपर्छ । यसको रुपान्तरण गर्न जरुरी छ । रुपान्तरण साँझ र बिहान जस्तो हुँदैन । समय लाग्छ । ७० वर्षदेखि एउटा धारामा बगेको दल छ । अहिले नेपाली काँग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नवीनता ल्याउनुपर्छ । ७० वर्षको निरन्तर यात्रालाई अघि बढाउँदै नवीनता पनि अघि बढाउनुपर्छ । वर्षमा भएका कमजोरीलाई हामीले आत्मालोचना गरेर जानुपर्छ । एक वर्षमा हुन खोजेका प्रयत्नहरुमा सार्थकता किन हुन सकेन भनेर खोज्नुपर्छ । काँग्रेसलाई रुपान्तरित गरेर जाने भन्ने यो वर्षमा भएका कामहरूलाई पनि समीक्षा गर्नुपर्छ ।

उनले नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकूलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए । उनले ५ वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताए ।

उनले आगामी निर्वाचनको घोषणापत्रमा सबै पक्षलाई समेटर घोषणापत्र बनाउने पनि बताए । उनले भने, ‘नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व छ, अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकूलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर सँगैका सहयात्रीलाई साथमा राखेर केवल निर्वाचनपछिको ५ वर्षको सरकारको कुरा मात्रै होइन, १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्छ । निर्वाचनको घोषणापत्र लेख्दा सबै पक्षलाई समेटेर लेख्नुपर्छ ।’

महामन्त्री शर्माले नेपाली काँग्रेस उज्यालो अनुहार बनाएर मंसिर ४ गते नेपाली काँग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा स्थापित गर्न अग्रसर हुने बताए । उनले नेपाली काँग्रेस पार्टीले २१ औं शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको सुरुवातको घोषणा पनि गरे ।

उनले भने, ‘नेपाली काँग्रेस पार्टीको सदस्य हुनुको नाताले उज्यालो अनुहार बनाएर, नागरिक पंक्तिमा हामीले हाम्रा कमजोरीहरु जे भएपनि त्यसलाई आत्मालोचना गरेर मंसिर ४ गते नेपाली काँग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा उभ्याउन हामी लागि पर्नेछौँ । देशव्यापी रुपमा नेपाली काँग्रेस पार्टी पंक्तिले कमजोरी गरेन भन्दैन । भएका कमजोरीलाई जनताको बीचमा आत्मालोचना गरेर, कमीकमजोरी नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरी, मुलुकको सही नेतृत्व गरेर मुलुकलाई गति दिन्छौँ । नेपाली काँग्रेस पार्टीले २१ औं शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको शुरुवात गर्दैछ ।’

महामन्त्री शर्माले नेपाल अहिले श्रीलंकाको बाटोमा नरहेको उल्लेख गर्दै श्रीलंकाको बाटोमा छ भन्नु भ्रम बाहेक अरु नभएको जिकिर गरे । उनले नेपाल देशले सामाजिक न्याय शैलीको उदार अर्थ व्यवस्थाको बाटोबाट कसरी जनताको अनुहारमा खुशी ल्याउन सकिन्छ भन्ने कुरामा काँग्रेस अघि बढ्ने बताए ।

उनले भने, ‘आज मानिसहरुको बीचमा आशंका छ । कतै नेपाल श्रीलंका हुने त होइन भन्ने आशंका छ । तर यो भ्रमपूर्ण प्रचार हो । अहिले नेपालको अवस्था त्यो छैन । उनीहरुले २५ वर्ष लामो हिंसा ब्यहोरे, हामीले १० वर्षको हिंसा व्यहोर्यौं । उनीहरुले हिंसालाई बन्दुकले समाधान गरे, हामीले वार्ताबाट समाधान गर्यौं । उनीहरुले ऋणमाथि ऋण लिए, हामीले ऋणभन्दा अनुदानमा जोड दियौँ । तर विगतमा बनाएका ठूला प्रोजेक्ट शुरु गर्दै गर्दा कतै हामी ऋणमा त डुब्दै छैनौँ ? ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? ऋण लिने कुरामा बुद्धिमता नपुर्याउँदा कमजोरी हुने त होइन ? घोषणापत्र लेख्दा यी कुरामा पनि ध्यान दिनेछौँ ।’

महामन्त्री शर्माले ठूलो योजना अघि बढाउँदै गर्दा ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? भन्ने प्रश्न उठ्नसक्ने भन्दै बुद्धिमतापूर्वक काम गर्नुपर्ने बेला भएको पनि बताए ।