Logo

बागमती पेज

भाद्र २७, २०७९ सोमबार

राष्ट्रिय संस्थागत विद्यालय संघ निसानको आयोजनामा एक दिने शिक्षक तालिम सम्पन्न


काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल निसानको आयोजनामा एक दिने शिक्षक कार्यशाला सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित कपन भिलेजमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, टोखा नगरपालिकाको साथै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा अवस्थित संस्थागत विद्यालयबाट लगभग १३० जना प्रधानाध्यापक, विद्यालय संयोजक तथा परीक्षा संयोजकहरूको सहभागिता रहेको थियो ।

पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत युवराज अधिकारीले कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख तथा नेपाल सरकारका उपसचिव दण्ड पाणि शर्माले शिक्षा शाखाले आयोजना गर्नुपर्ने कार्यक्रम निसानले आयोजना गरेकोमा आयोजकलाई धन्यवाद प्रकट गरेका थिए ।

उनले विद्यालयका प्रतिनिधिहरूको उपस्थितिले शिक्षा शाखालाई यस्ता खाले कार्यक्रम गर्न प्रेरित गरेको र निसानसँगको सहकार्यमा निकट भविष्यमा यस्तैखाले कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पाठ्यक्रम अधिकृत अधिकारीले सहभागी शिक्षकहरूलाई पाठ्यक्रम तथा मूल्याङ्कन प्रणालीको बारेमा रहेका अन्यौलता, जटिलता तथा नयाँ व्यवस्थाको बारेमा स्पष्ट पारेका थिए ।

सहभागीहरूको तर्फबाट जीवन तारा एकेडेमीका परीक्षा संयोजक सुरेश निरौलाले कार्यशालाले पाठ्यक्रम र परीक्षा सम्बन्धी आफूमा रहेका कैयौँ अस्पष्टताहरू हटाउन सहयोग गरेकोले विषय शिक्षकका लागि पनि यस्तो कार्यक्रम गर्न आग्रह गरेका थिए ।

कार्यक्रमको सभापतित्व गरेका निसानका अध्यक्ष शौर्यनाथ आचार्यले आगामी दिनमा निसानले शिक्षक लक्षित तालिम आयोजना गर्ने भन्दै उक्त कार्यक्रममा आफ्नो विद्यालयका विषय शिक्षकलाई सहभागी गराउन सबैमा आह्वानसमेत गरेका थिए ।

उनले नगर शिक्षालाई समेत यस्ता कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै आवश्यक परे निसानले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निसानका उपाध्यक्ष तथा तालिम विभाग प्रमुख युवराज काफ्लेले सञ्चालनमा रहेको उक्त कार्यक्रममा निसानका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार ओमप्रसाद ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।