Logo

बागमती पेज

भाद्र ३०, २०७९ बिहीबार

‘निर्वाचनमा विश्व चकित पार्ने परिणाम ल्याउने छौं’ : अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेले विश्व चकित पार्ने गरी कसैले नसोचेको परिणाम ल्याउने बताएका छन् ।

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको बहुमत ल्याउन जनतालाई जगाएर निर्वाचनको तुफानी अभियान चलाउने बताए ।

अध्यक्ष ओलीले भने, ‘मंसिर ४ गतेको निर्वाचन हामीले जित्नैपर्छ । त्यो जित एमालेको लागि तथा लोकतान्त्रिक तमु संघका लागि होइन, देशको विकास, तमाम जनताको हित, लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता र समानताका लागि जित्नुपर्छ । विकास अबरुद्ध गर्ने, सामाजिक सद्भाव भत्काउनेलाई देखाउन यो निर्वाचन एमालेले जित्नपर्छ ।’

आगामी निर्वाचन समान्य र नियमित प्रक्रिया मात्र नभएर लोकतान्त्रिक प्रक्रिया तथा संरचना भत्काउने, संविधान मिच्ने, सामाजिक सद्भाव विथोल्ने, कानुनको उल्लङ्घन गर्ने र राष्ट्रिय हितमा कुठाराघात गर्नेलाई परास्त गर्न केन्द्रित हुनुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले गलत मनसायले बनेको अपवित्र गठबन्धन सरकारले निर्वाचनमा धाँधली र बुथ कब्जा गर्ने रणनीति अपनाएको बताउँदै एमालेजनले मंसिर ४ को निर्वाचनमा एमालेको पक्षमा मतदान गर्नेको सङ्ख्या बढाउनेदेखि मतदाताको सुरक्षा गर्नुपर्नेमा जोड दिए ।