Logo

बागमती पेज

आश्विन १, २०७९ शनिबार

कैलालीमा अहिलेसम्मकै भयानक बाढी, एक हजार बढी घर डुबानमा


काठमाडौँ । अविरल वर्षापछि आएको बाढीले कैलालीमा करिब १ हजार बढी घर डुबानमा परेका छन् ।

जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन् । त्यस्तै, जिल्लाको पहाडी जिल्ला चुरे गाउँपालिकाका स्थानीयहरु पहिरोले प्रभावित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको बताए । जिल्लास्थित मोहना, पथरैया, काडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा बस्ती डुबानमा परेका हुन् । नदीको जलस्तर बढ्ने क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको सूचना अधिकारी जोशीले बताए ।

यता कैलारी गाउँपालिकाको वडा नम्बर ५ अन्र्तगत मनकापुर, बन्दरगौरी, बैजपुर, सपना शिविरसहित वडा नम्बर ७ को बर्का वसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर लगायतका गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए । कटैनी नदीमा आएको बाढीले डुबान भएको उनले बताए । अध्यक्ष चौधरीले जनप्रतिनिधि, सशस्त्र प्रहरी, स्थानीय लगायत उद्धार गरिरहेको बताए ।

कैलालीको कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफ्नो जीवनमा हालसम्मकै ठूलो बाढी देखेको बताए । गाउँपालिकास्थित वडा नं. ७ पुरै र वडा नं. ५ का अधिकांश घर डुबानमा परेको बताउँदै उनले उद्धारको कार्य जारी रहेको जनाए ।

यसैबीच कैलालीमा माछा मार्ने क्रममा बगेर एक युवती बेपत्ता भएकी थिइन् । धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नविना चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी वेदप्रकाश जोशीले जनाए । चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएपनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जनाइएको छ ।