Logo

बागमती पेज

आश्विन १, २०७९ शनिबार

अछाममा पहिरो : मृतकको संख्या १७ पुग्यो


काठमाडौँ । अछामका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।

उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ । हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमल बजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरोमा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरोमा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

‘एकिन विवरण आइसकेको छैन । मृतकको सङ्ख्या बढ्न सक्छ’, उनले भने, ‘अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ ।’