Logo

बागमती पेज

आश्विन ३, २०७९ सोमबार

७ किलोको बच्चा जन्मने क्रममा काँध अड्किएर मृत्यु


काठमाडौँ । धुलिखेल अस्पतालमा एक शिशुको जन्मने क्रममा मृत्यु भएको छ । करिब ६ हजार ६ सय ६० ग्राम अर्थात करिब ७ किलोको शिशुको जन्मने क्रममा मृत्यु भएको हो ।

धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकारका अनुसार बिहिबार साँझ ६ः५० बजे सिन्धुपाल्चोक तातोपानीकी ३५ वर्षीया गर्भवती महिला सुत्केरी हुन नसकेपछि अस्पताल ल्याइएको थियो । सामान्य रूपमा बच्चा जन्मने संकेत नदेखिएपछि डाक्टरहरूले शल्यक्रिया (सिजेरियन) मार्फत बच्चा निकाल्ने तयारी गर्दा गर्दै बच्चाको टाउकोबाहिर निस्किएपछि शल्यक्रिया गर्न नसकिएको बताएका छन् ।

जन्मने क्रममा काँध अड्किएका कारण बच्चाको निधन भएको डा. ताम्राकारको भनाइ छ । बच्चाको अस्वाभाविक तौलको विषयमा पहिले नै जानकारी दिइएको भएपनि शल्यक्रिया गर्न सम्भव हुने उनको भनाइ छ ।

योनीद्वारबाट ७ किलो तौलको शिशु जन्मिनु भनेको नेपालको लागि मात्रै नभई विश्वकै निकै बिरल घटना भएको चिकित्सकहरूले बताएका छन् । ती महिलाको यो चौथो पटकको गर्भाधारण हो । यस अगाडि उनले सामान्य रूपमै ३ वटा बच्चालाई जन्म दिएकी थिइन् ।

शेर्पा थरकी ती महिलाका पहिला नै ३ जना छोरी जन्मिएका भए पनि अहिले जन्मेको बच्चा भने छोरा रहेको थियो । उनका १०, ९ र ३ वर्षका छोरी रहेका छन ।