Logo

बागमती पेज

आश्विन ३, २०७९ सोमबार

सोलुखुम्बुमा प्रचण्डले भने, मैले यस्तै विकासको कुरा गरेको हो


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपलिकामा भएको विकास निर्माणका कामहरुको प्रशंसा गरेका छन् ।

सोमबार दुधकोशी सामुदायिक अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउने र शिक्षा, स्वास्थ्य रोजगारीको नयाँ अभियानको चर्चा गर्दैगर्दा आफूले यस्तै विकासको कुरा गरेको भन्दै प्रशंसा गरेका हुन् ।

‘यस्तै शिक्षालय, यस्तै अस्पताल, जनतालाई सेवा दिने भवन सिंहदरबारको कुरा गरेको हो र जनतालाई अझ धेरै अधिकार दिने कुराको पक्षपोषण गरेको हो’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले सोलुखुम्बु सगरमाथाको जिल्ला भनेर संसारमा चिनिएको पनि बताए ।

‘सगरमाथाको काखमा भएको तपाईको जिल्लामा सोलुखुम्बुबासीका निम्ती शिक्षा, स्वास्थ्य रोजगारी, बाटोघाटो, विद्युतीकरणले कस्तो मोडल अपनाउँछ त्यो पनि संसारभर देखिन्छ’, उनले सोलुमा भएको विकासको मोडल संसारले हेर्ने बताए ।

बाटोघाटोबाट नजोडिएका सोलुखुम्बुमा ४८ वटा वडामात्रै ५ बर्षमा जोडिएको, अस्पताल, विद्युतीकरण र शिक्षामा समेत भएको विकास समाजवादतर्फको यात्रा भएको उनले बताए । ‘साँच्चै संसारको सवैभन्दा अग्लो टाकुराबाट समाजवादको सन्देश दिएको छ’ प्रचण्डको भनाइ छ ।