Logo

बागमती पेज

आश्विन ४, २०७९ मंगलबार

हिन्दु-मुस्लिम समुदायबीच झडप: ठुलो तनाव उत्पन्न, के थियो कारण ?


काठमाडौँ । दुई सम्प्रदायहरू हिन्दु र मुस्लिमबीच ठुलो तनाव उत्पन्न भएपछि प्रहरी र स्थानीय नेताले मानिसहरूलाई शान्ति कायम राख्न आग्रह गरेका छन् ।

प्रहरीका अनुसार त्यस स्थानमा ‘अचानक प्रदर्शन’ सुरु भएको थियो । घटनासँग जोडेर दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । लन्डन नजिकैको लेस्टरमा शनिबार तनाव भड्किन नदिने त्यस भेगमा केही दिन ठुलो सङ्ख्यामा प्रहरीको उपस्थिति रहने पनि प्रहरीले जनाएको छ ।

गत अगस्ट २८ मा एसिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीच भएको खेलपछि दुई समुदायका मानिसहरूबीच उत्पन्न तनाव शनिबार उच्च विन्दुमा पुगेको अनुसन्धानले देखाएको छ ।

लेस्टरको फेडरेशन अफ मुस्लिम अर्गनाइजेसनका सुलेमान नागदीले बीबीसीलाई भने,‘ शनिबार यहाँको सडकमा जे देख्यौँ, त्यो चिन्ताको कुरा हो । भारत–पाकिस्तान खेलपछि यहाँको समुदायमा पहिलेदेखि कायम तनाव बाहिर आएको छ । ’

लेस्टरको हिन्दु र जैन मन्दिरहरूसँग सम्बद्ध सञ्जीव पटेल शनिबार रातको घटनाले आफू स्तब्ध भएको बताए । ‘हामी यस सहरमा दशकौँदेखि शान्तिपूर्वक बसेका छौँ, तर पछिल्ला केही हप्ताहरूमा देखिएको समस्याले केही कुरामा स्पष्ट हुन छलफल गर्नुपर्ने देखिएको छ । विशेषतः मानिसहरू के कारणले रिसाइरहेका छन् भन्ने बुझ्न पनि छलफलको आवश्यकता छ ,’ पटेलले भने ।

घटनाको समयमा धारिलो हतियार बोकेको आशङ्कामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै हिंसालाई भड्काएको आरोपमा अर्का व्यक्त पनि समातिएका छन् । दुवै जना अहिले प्रहरी हिरासतमा छन् ।

लेस्टर सिटीका मेयर सर पिटर सोल्सबीले ‘शनिबार भएजस्तो घटना हुने अपेक्षा नगरेको बताए । उनले प्रहरीले आम मानिसलाई शान्त बस्न आह्वान गरेको बताए ।

‘तनावमा संलग्न अधिकांश २० वर्ष वरपरका युवा थिए । तनाव सिर्जना गर्ने अवसर खोजिरहेका केही सहर बाहिरका मानिस यहाँ आएको सुनेको छु । घटना जुन क्षेत्रमा भयो त्यहाँको स्थिति चिन्ताजनक थियो ,’ मेयर सोल्सबीले भने ।

समुदायका नेताहरू परिस्थितिलाई सम्हाल्ने प्रयासमा अगाडि आएर उदाहरणीय काम गरेको बताए । तथापि युवाहरूमाझ पुगेर तिनलाई सम्झाउन कठिन भएको उनले बताए । आइतबारसम्म स्थिति नियन्त्रणमा आएको र धेरै कुरा सामान्य अवस्थामा फर्किएको प्रहरीले बताएको छ ।

शनिबारको तनाव देखेकी एक महिला प्रत्यक्षदर्शीका अनुसार अधिकांश युवाले कालो मास्क लगाएका हुड लगाएको बताउँदै प्रहरी पनि भिड नियन्त्रण गर्न नसक्ने स्थितिमा रहेको बताइन् । अगस्ट २८ मा दुबईमा भएको एसिया कपमा भारत र पाकिस्तानबीचको खेल भएको थियो । त्यसपछि नै लेस्टरका हिन्दु र मुसलमान समुदायबीच विवाद बाहिर आएको हो । एजेन्सी