Logo

बागमती पेज

आश्विन ७, २०७९ शुक्रबार

१४ महिनादेखि नतिजाको पर्खाइमा त्रिविका विद्यार्थी


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो ।

गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्षा भएको बढीमा ६ महिनाभित्रमा नतिजा प्रकाशन भइसक्थ्यो । तर, १४ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नभएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् ।

प्रथम वर्षको परीक्षा दिएका विद्यार्थीहरू अहिले तेस्रो वर्षमा छन् । तर, प्रथम वर्षको नतिजा नै आउन सकेको छैन । अहिले स्नातक तह प्रथम वर्षमा नयाँ र पुराना गरेर दुई समूह छन् । त्यसमा नतिजाको परीक्षामा रहेका तेस्रो समूह पनि छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको लागि पतिव्रता साथ तयारी थालिरहेको जनाएको छ । सहायक परीक्षा नियन्त्रक महेश ओझाले नतिजा प्रकाशनको लागि अहोरात्र खटिएर काम भइरहेको बताए ।

त्रिविमा लामो समयदेखि भइरहेको तालाबन्दीका कारण नतिजा प्रकाशनमा समस्या भइरहेको त्रिविले जनाएको छ । त्रिविको रजिष्ट्रार कार्यालयदेखि अधिकांश विभागमा र महाशाखामा तालाबन्दी छ । अहिले आर्थिक प्रशासन महाशाखाको तालाबन्दी भने खोलिएको छ । दसैँ तिहारको समयमा शिक्षक कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि उक्त महाशाखाको ताला खोलिएको हो । त्यो बाहेक सबै क्षेत्रमा तालाबन्दी कायमै छ । तालाबन्दीका कारण परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।