Logo

भवानी कार्की

आश्विन ९, २०७९ आईतबार

सडक निर्माणमा शैलुङको तीव्रता


काठमाडौँ । दोलखाको शैलुङ गाउँपालिकाले अस्त व्यस्त रहेका सडक मर्मत तथा निर्माणको कार्यलाई तीव्रता दिएको छ । चाडपर्व नजिकिएसँगै स्थानीयको आवत जावतमा सहज होस् भनी दीर्घकालिन रूपमा सडक निर्माण कार्यलाई निरन्तरता दिएको हो ।

गाँउपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठका अनुसार मुडेदेखी गाउँपालिका कार्यालय हुँदै शैलुङ सम्म १६ किलोमिटर सडकको काम निर्माण कम्पनीले जिम्मा लिएको थियो । त्यसमध्ये मुडेदेखी बाख्खोरसम्म साडे ८ किलोमिटर मिटर सडक भित्र ६६० घनमिटर ढलान गर्नुपर्नेमा १०० घनमिटर लम्बाई ढलानको काम सम्पन्न भइसकेको छ ।

मुडे देउराली सडक खण्डको १६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी भौतिक पूर्वाधार कार्यालय सिन्धुपाल्चोकले ३१ करोड ७५ लाख रुपैयाँमा महालक्ष्मी निर्माण, द कञ्चनजंगा र शुभकामना जेभीसंग दुई वर्षमा काम पुरा गर्ने गरी २०७६ साल असारमा योजना सम्झौता गरेको थियो । तर विविध कारणवश सडकको निर्माण कार्य रोकिएको थियो ।

अहिले सडकको काम शुभकामना र महालक्ष्मी निर्माण व्यवसायीले नै निरन्तरता दिएको अध्यक्ष रिमलबाबु श्रेष्ठले बागमती पेजलाई जानकारी दिए ।

उनका अनुसार दसैँमा घर आउने यात्रुलाई सहज बनाउनका निमित्त दुई लाइन बाटो भएको ठाउँमा एक लाइन छोड्दै र एक लाइन बाटो भएको ठाउँमा खाल्डा खुल्डी पुर्दै वैकल्पिक बाटोको निर्माण कार्य भइरहेको छ । काम सुरु भएको १० दिन भित्रनै १०० घन मिटरको काम सम्पन्न भइसकेको छ । पालिका अध्यक्ष रिमलबाबु श्रेष्ठको भौतिक उपस्थितिमै सडकको कार्य भइरहेको हो ।

शैलुङ- ३ का स्थानीयवासी दिलकुमार श्रेष्ठले सडक निर्माण कार्यले निरन्तरता पाउँदा खुसी व्यक्त गर्दे सम्पूर्ण शैलुङ गाउँवासीलाई आवतजावत सहज हुने र खेती कृषकहरूको जीवनस्तर मा समेत सुधार हुने बताए । मुडे शैलुङ सडक खण्ड सडक अस्त व्यस्त रहेको समयमा अहिले सडक ढलान भइरहँदा दीर्घकालीन सडक निर्माण हुनेमा आफू आशावादी रहेको समेत बताए । 

विशेष गरी चाडपर्व मनाउन घर आउनेहरूका लागि पनि सडक मर्मत कार्य तीव्र गतिमा भइरहेको पालिकाले बताएको छ । मुडे देउराली सडक खण्डमा सवारी चल्न थालेको २२ वर्ष पुगी सक्यो, तर पटक–पटक विवाद र अन्य कठिनाइका कारण सडक मर्मत हुन सकेको थिएन ।

जसका कारण शैलुङ आवत जावत गर्ने सवारी र यात्रुहरूलाई यात्रा कठिन थियो । अहिले शैलुङवासीलाई सडक निर्माण कार्य सुरु भएसँगै यात्रामा सहज हुने आशा पलाएको छ । अव भने दीर्घकालीन हुनेगरी सडक निर्माण कार्य थालनी गरिएको हो ।