Logo

बागमती पेज

आश्विन १०, २०७९ सोमबार

 मानसिक तनावले आइसोलेसनमा छु- सन्दीप लामिछाने 


काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा बसेको पनि उल्लेख गरेका छन् । र, चाँडै नेपाल फर्किने उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन।
म विरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। म विरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आए।’

‘उनले भनेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मलाई आईसोलेसनमा राखेर बसेको छु ।’

यसर्थ उने आफु मानसिक तनावमा भएका कारण आइसोलेसनमा रहेको चित्रण गरेका छन् । उनले डाक्टरहरुको सल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै गरेको भनेका छन् । उनले अगाडि भनेका छन्, ‘स्वास्थ्यमा क्रमिक सुधार आउँछ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुठा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

टी–२० सिरिज खेल्न केन्या गएका लामिछानेले त्यहीँबाट क्यारेबियन प्रिमियर लिग(सीपीएल) खेल्न जमैका गएका थिए । त्यहाँबाट चाँडै फर्किने बताए पनि उनी हाल कहाँ छन् खुलाएका छैनन् । प्रहरीले पनि पत्ता लगाउन सकेको छैन ।