Logo

बागमती पेज

आश्विन २६, २०७९ बुधबार

२४ घण्टाको विपद् : १६ को मृत्यु, १७ बेपत्ता


काठमाडौं : पछिल्लो २४ घण्टामा पहिरोका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एक बुलेटिन सार्वजनिक गर्दै सोमबारदेखि आजसम्मको २४ घण्टाको समयमा कालिकोट, मुगु, हुम्ला र बाजुरामा गरी १६ को मृत्यु हुनुका साथै १७ बेपत्ता भएको उल्लेख गरेको छ ।

दाङ र जुम्लामा अविरल वर्षाका कारण एक जनाको मृत्यु र एक घाइते भएका छन् । आगलागीबाट भक्तपुरमा एक घाइते भएका प्राधिकरणले जनाएको छ ।

पछिल्लो समयमा रामेछाप जिल्लाको मन्थली विमानस्थलमा सबैभन्दा बढी (४० दशमलव चार मिमि) पानी परेको जनाइएको छ । वैशाखयता दुई हजार दुई विपद्जन्य घटनामा २७६ को मृत्यु र ३३ बेपत्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यसपालि पहिरोका कारण बढी मानिसले ज्यान गुमाएका छन् ।